फाइल फोटो

समाचार

विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा

By खबरहब

April 01, 2019

बेझाड- पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८ सय विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा दर्ता कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर घरमा बीमाकर्ता परिचालन गरेर स्वास्थ्य बीमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्न थालेको छ ।

आर्थिक समस्याले गर्दा यहाँका नागरिक उपचार अभावमा भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका थिए । बीमा गरेपछि स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्दै गएको पाइएको छ । गत वर्ष पनि गाउँपालिकाले विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २० लाख रकम विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष विपन्नअन्तर्गत पनि पहिचान गरेर अति विपन्न, एकल महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर स्वास्थ्य बीमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा दर्तापश्चात् गाउँपालिकाका आठवटै वडामा बीमाको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । साथै गाउँपालिकाले घर घरमा पुगेर ज्येष्ठ नागरिक उपचार सेवा, गाउँ गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सुत्केरी महिलालाई पोषण भत्ता, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।