अन्य

‘आईफा अवार्डका लागि अनुमति हो, सरकारले बजेट दिएको होइन’

By खबरहब

July 01, 2019

काठमाडौं– नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्ट्याए । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्व बजेट दिन लागेको भन्दै सरकारको आलोचना भईरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले पत्रकार सम्मेलन गरी सरकारले बजेट दिने कुनै निर्णय नगरेको स्पष्ट पारेको हो ।

बोर्डले आईफा अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ । अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौंको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको अपेक्षा छ । बलिउडका कलाकारहरु सहभागी हुने आईफा अवार्ड पर्यटन प्रवद्र्धनका लागि अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको पनि प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

जोशीका अनुसार अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ । मन्त्रीपरिषद बैठकले अवार्ड आयोजकको रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।