आर्थिक

मुख्यमन्त्री शाहीले भने-वितरणमुखी योजना कार्यान्वयन गर्दैनौं

By खबरहब

September 01, 2019

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका छन् ।

उमेर हदका कारण सेवा निवृत्त हुनुभएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको बिदाइ कार्यक्रममा उनले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका हुन्।  कर्णालीको विकास र समृद्धिको लागि वृहत गुरुयोजनाको आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताका आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजनामा सरकारले लगानी केन्द्रित गर्ने नीति लिएको स्पष्ट पारे । खुद्रा व्यापार गरेजस्तो विकास गरेर कर्णाली बनाउन नसकिने भन्दै उनले कर्णाली निर्माणका लागि ठूलो लगानीसहित तीव्रगतिमा विकासको कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।