समाचार

मन्त्री अधिकारीसहित सातै जनाको शव पोष्टमार्टम सकियो, अस्पतालले ८ बजेभित्र बुझाउने

By खबरहब

March 01, 2019

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव पोष्टपार्मटम सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसीन विभागमा सबै शवको पोष्टमार्टम बिहीबार दिउँसो २ बजेदेखि शुरु गरेको थियो । पोष्टमार्टम शुरु भएको ११ घण्टापछि सबै शवको पोष्टमार्टम सकिएको विभागका प्रमुख डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई बताए ।

सबै शवको पोष्टमार्टम सकिएकाले आज (शुक्रबार) बिहान ८ बजे भित्र अस्पतालले मृतकका आफन्तहरुलाई शव बुझाइने डा श्रेष्ठको भनाई छ ।

‘बिहीवार दिउँसो २ बजेदेखी हामी पोष्टमार्टको लागि खटिका थियौं । सबै शवहरुको पोष्टमार्टमको काम राति १ बजे सकियो ।,’ डा श्रेष्ठले खबरहबसँग भने, ‘ अब बिहान ७ बजे मृतकका परिवारहरु अस्पताल आइपुग्नु हुन्छ, अस्पतालले मृतकका परिवारलाई शव बुझाउछ, त्यसपछि प्रहरीले नै श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिनेछ ।’