समाचार

रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी

By खबरहब

March 02, 2019

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालको उपचारका क्रममा शनिबार राति ९:३५ बजे निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि  आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

तीन हप्तादेखि उपचाररत नेता अधिकारीलाई पछिल्लो पटक भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनी न्यूमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित थिए । शनिबार दिउँसो अस्पतालले पत्रकार सम्मेलन गर्दै उनका सवै अंगले काम गर्न छाडेको र अब आशा नरहेको र सम्पूर्ण प्रयासका बाबदुद पनि बचाउन सक्ने अवस्था नरहेको जानकारी दिएको थियो ।

नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री बनेका थिए । त्यसबेला उनले ल्याएका वृद्धभत्ता र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अहिलेसम्म लोकप्रिय छन् । उनको निधनमा दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।