मनोरञ्जन

केकीको फिल्म ‘छ माया छपक्कै’ अब घरमै बसेर हेर्न सकिने

By खबरहब

December 03, 2019

काठमाडौं – हलमा ५१ औँ दिन मनाउन सफल फिल्म ‘छ माया छपक्कै’अब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा म‍ंसिर १३ देखि प्रदर्शन भएको हो ।

योसँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सक्नेछन् । हलको पहुँचमा नभएका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।

व्यावसायिक रुपमा सफल यो फिल्ममा दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्नका लागि ग्राहकले रुपैयाँ ४२५ तिर्नुपर्ने हुन्छ ।

डिस होमको च्यानल नम्बर १०८ मा नयाँ तथा पुराना नेपाली फिल्महरू देखाइने गरिन्छ ।

आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक २४ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । फिल्मले समीक्षकको समेत मन जितेको थियो । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।