काठमाडौं– बुधवार दिउँसो वैदेशिक रोजगार विभाग पुग्दा नुवाकोट लिखु गाउँपालिका वडा नम्बर–४ की रेनुसा राई ४ महिनाको छोरो च्यापेर रोहिरहेकी थिइन् । उनकी सासू शकुन्तला बुहारीलाई सुम्सुम्याइ रहेकी थिइन् ।
पैसा कमाउन र घरको अवस्था सुधार गर्न भन्दै वैदेशिक रोजगारीका लागि कतार गएका ठाइलो छोरा लोकेन्द्रको उतै मृत्यु भएपछि शव ल्याउन पहल गर्न बुहारीलाई लिएर आमा शाकुन्तला विभाग पुगेकी थिइन् ।
वैदेशिक रोजगारीका लागि कतार गएको एक महिना मै पतिको मृत्यु भएको खबरले पत्नी रेनुसा विक्षिप्त थिइन् ।
गत फागुन १० गते परिवारसँग विदा भएर वैदेशिक रोजगारीमा कतार जाने भनेर नुवाकोटका लोकन्द्र राई घरबाट हिडें । घरबाट १० गते हिडेका राईले ११ गते दिउँसो कतार उडें भनेर आमा र श्रीमतीलाई फोन गरेका थिए । राई नेपाल पश्चिम ओभरसिर्ज म्यानपावर प्रालिबाट कतार रोजगारीका लागि गएका थिए । राईले कतार पुगेपछि आफू सकुशल कतार पुगेको भन्दै घरमा खबर गरेका थिए ।
राई कतार पुगेको एक हप्तामै विरामी भए । ‘गएको एक हप्तामै बिरामी भएर अस्पतालमा भर्ना गरिएको फोन आएको थियो’ आमा शकुन्तलाले बताइन् ।
फागुन ११ गते घरबाट हिँडेका लोकेन्द्रको कतारमा उपचारका क्रममा चैत ५ गते मृत्यु भएको एउटै कम्पनीमा काम गर्ने साथीले फोन गरेर खबर गरेको मृतक लोकेन्द्रकी श्रीमती रेनुसाले बताइन् । ‘सामान्य बिरामी छन् भनेर खबर आएको थियो । तर, एक्काशी मृत्यु भएको भनेर फोन आयो । म त फोन सुन्ने वित्तिकै वेहोस भएँ’ उनले भनिन् ।
‘श्रीमान् त अब फर्किएर आउनुहुन्न तर एक पटक उहाँको अनुहार हेर्न मन छ जसरी भएपनि शव नेपाल झिकाई दिनुपर्यो सर’ भन्दै वैदेशिक रोजगार विभागका कर्मचारीसँग रेनुसा हारगुहार गर्दै थिइन् ।
छोरालाई पढाउन र सानो घर बनाउन खर्च कमाएर ३ वर्षपछि फर्किन्छु भनेर पति कतार गएको रेनुसाले सुनाइन् ।
‘विदेशी नजानु भनेर जिद्धि गरें । गाउँमै दुबै जाना मिलेर खेतीपाति गरौं भनेको थिएँ तर, मानेनन्’ भावुक हुँदै रेनुसाले भनिन्,‘अब ४ महिनाको छोरो कसरी हुर्काउनु, कसरी पाल्नु र पढाउनु मैले ।’
४ वर्ष अघि लोकेन्द्रसँग विवाह बन्धनमा बाँधिएकी रेनुसा २४ वर्षकी भइन् ।
के कारणले निधन भएको हो भनेर खबर आएको छ ? भन्ने प्रश्नमा रेनुसाले भनिन्,‘रेविज रोगबाट मृत्यु भएको भनेर डाक्टरले प्रमाणित गर्यो भन्छन्, श्रीमान्सँग कम्पनीमा सँगै काम गर्ने साथीसँग सोध्दा रेजिव रोग लागेर मृत्यु भएको भनेको छ डाक्टरले भन्छन् ।’
कतारस्थित नेपाली दूतावासले र रोजगार कम्पनीले रेविज लागेर मृत्यु भएका कारण राईको निधन भएकोले शव नेपाल लैजान समस्या हुने बताएको रेनिसाले सुनाइन् ।
‘सरकारले वैदेशिक रोजगारीमा गएर काम गर्दा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिएर के हुन्छ ?’ उनको प्रश्न थियो । ‘पैसा होइन हामी जस्ता रोजगारपीडितका सन्तानलाई शिक्षादिक्षा र परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्छ’ रेनुसाले भनिन् ।
‘श्रीमान्को निधन भएपछि समाजले हेर्न दृष्टिकोण नै फरक हुन्छ । जीवन साहारा नै नभएपछि छोरोको लागि भएपनि बाँच्नु पर्ने बाध्यता छ,’ उनले भनिन्, ‘गरीबमाथि नै भगवानले पनि अन्याय गर्दा रहेछन् । देशभित्र काम गर्छु भनेर कति काम खोज्नु भयो । नपाएपछि कतार जानुभएको हो । यो ४ महिनाको छोरोले बुवा खोज्दा मैले के भन्ने ?’
‘४ महिनाको छोरोले मेरो बुबा कस्तो हुनुहुन्थ्यो भनेर सोध्यो भने के भन्ने ? अनुहार र बुवा भन्ने शब्द नै उचारण गर्न नपाउनु कति दुखलाग्दो कुरा हो ?’ राईकी आमा शकुन्तालाले भावुक हुँदै बताइन् । ६५ वर्षीय आमा शकुन्तोलाले भनिन्, ‘सन्तान गुमाउदाँको पीडा कसलाई थाहा छ र ? गरीब भएकै कारण काम गर्न विदेश जाँदा छोरोले ज्यान गुमायो । फेरि छोरोको शव ल्याउन मिल्दैन रे ! एक पटक छोराको अनुहार हेर्न पाए हुन्थ्यो ।’
रेनुशा र उनकी सासू त उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्ता धेरैका श्रीमान र छोराले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाइरहेका छन् । उनीहरु जस्ता धेरै वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएर परिवार शव झिकाइ दिनका लागि आग्रह गर्न र क्षतिपूर्तिका लागि विभागमा धाउने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा मासिक ५० जनाभन्दा धेरैले विदेशमा ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तंथ्याकमा उल्लेख छ । चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा रोजगारीमा गएका ३ सयले रोजगारदाता देशमा ज्यान गुमाएको वोर्डको तंथ्याकमा उल्लेख ।
वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र ठूलो सहयोग पुगिरहेको छ भने अर्कोतिर धेरैका ज्यान पनि लिएको छ । वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर न्यूनीकरण गर्ने सरकारले चासो नदिएको पीडितले गुनासो गदै आएका छन् ।