अन्तर्राष्ट्रिय

अभिनन्दनलाई ‘अहिंसा’ पुरस्कार दिइने

By खबरहब

March 03, 2019

एजेन्सी– पाकिस्तानमा पक्राउ परी भारत फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई ‘भगवान महावीर अहिंसा पुरस्कार’ दिइने भएको छ । भारतको अखिल भरतीय दिगम्बर जैन महासमितिले विङ्ग कमाण्डर अभिनन्दनलाई सो पुरस्कार दिन लागिएको जनाएको छ ।

अखिल भारतीय दिगम्बर जैन महासमितिले कसैलाई ‘भगवान महावीर अहिंसा पुरस्कार’ प्रदान गर्न लागेको यो पहिलोपटक हो । पुरस्कारको राशी २ लाख ५१ हजार र प्रमाणपत्र रहेको र उनलाई महावर जयन्तीको अवसरमा आगामी अप्रिल १७ मा पुरस्कार दिइने बताइएको छ ।

भारतीय वायुसेनाको मिग २१ लडाकु विमानका चालक अभिनन्दनलाई यो साता पाकिस्तानी सेनाले पक्राउ गरी हिरासतमा राखेको थियो । तर पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई भारत फिर्ता गर्ने घोषणा गरेका थिए । इमरान खानको घोषणा अनुसार गत शुक्रबार भारत फर्केका उनको भव्य स्वागत गरिएको थियो ।