रोचक/विचित्र संसार

व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि…

By खबरहब

November 04, 2019

एजेन्सी- व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ ।

भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो ।

कार चोरीको आरोपमा पक्राउ परेका इब्राहिम जेलमा थिए, उनलाई भेट्न गएको गर्लफ्रेण्डले सुटकेसमा काेचेर उनलाई जेलबाट भगाउने प्रयास गरेकी थिइन् । कार चोरीको आरोपमा इब्राहिमलाई अदालतले  ९ वर्षको जेल सजाय सुनाइएको थियो।

व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए ।

जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए । सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे ।