समाचार

भन्सार चेकजाँचका क्रममा सुनसरीमा गोली चल्यो, प्रहरी र स्थानीय घाइते

By खबरहब

April 05, 2019

इटहरी– भन्सार चेकजाँच गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा सुनसरीको भोक्राहामा गोली चलेको छ ।

भारतसँग नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई चेकजाँचका क्रममा विवाद हुँदा घटनाले उग्र रुप लिएको हो ।

चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण भएको जनाइएको छ । स्थानीयका अनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले चेकजाँचका क्रममा विवाद उत्पन्न भएको बताए ।

‘गोली नै चलेको भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । चेकजाँचको क्रममा विवाद भएको हो,’ एसपी अधिकारीले खबरहबसँग भने, ‘सर्वसाधारणको आक्रमणबाट हाम्रा (प्रहरी)का एकजना सई घाइते हुनुभएको छ ।’

झडपका क्रममा केही सर्वसाधारण पनि घाइते भएका जनाइएको छ ।