अन्तर्राष्ट्रिय

कश्मीरमा प्रदर्शन जारी, सुरक्षा गस्ती तीव्र

By खबरहब

August 07, 2019

नयाँ दिल्ली– हालै भारत सरकारले जम्मू कश्मीर राज्यको विशेष राज्यका मान्यता खारेज गरेपछि कश्मीर उपत्यकामा छिटफुट प्रदर्शन भएका छन् ।

कश्मीरमा कफ्र्यु लागू गरिएको तथा अधिकांश राजनीतिक तथा धार्मिक नेताहरुलाई गिरफ्तार गरिएपछि कश्मीरमा छिटफुटमात्र प्रदर्शन भएको हो । ४ जना भन्दा धेरैलाई एकै ठाउँ भेला हुन प्रतिबन्ध लगाइएको र टेलिफोन इन्टरनेटसहितका सूचना तथा सञ्चारका माध्यम बन्द रहेकाले ती प्रदर्शनहरु संगठित भने हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुङ्गामुढा प्रहार गरेका थिए भने जवाफमा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

कर्फ्यू लागेका कारण राजधानी श्रीनगरसहित कश्मीरका अधिकांश मुख्य शहरका बजार, पसल र कलकारखानाहरु बन्द रहेको बताइएको छ । गत सोमबार केन्द्र सरकारले भारतीय संविधानको धारा ३७० तथा ३५ ए खारेज गरी जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खोसेपछि कश्मीरमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।