राजनीति

सभामुख महराद्वारा बंगलादेशका सभामुखसँग शिष्टाचार भेट

By खबरहब

April 09, 2019

दोहा- सभामुख कृष्णबहादुर महराले बंगलादेशको संसदका सभामुख डा. शिरिन शर्मिन चौधरीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका बंगलादेशका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा आ आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरिएको थियो ।

भेटमा सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल बंगलादेश संसदीय मैत्री संघको नामावली बंगलादेशका सभामुखलाई हस्तान्तरण गरेका थिए ।

साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह गरे ।

भेटमा आइपियूमा सहभागी बंगलादेशका सभामुखसहितको संसदीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुको पनि सहभागिता थियो ।