राजनीति

प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण होइनः गृहमन्त्री थापा

By खबरहब

June 10, 2019

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएरपछि छोडिएको बताए ।

‘नागरिकको जीउ धनको सुरक्षा गर्नु सरकारको दायित्व हो, कानून विपरीत बल प्रयोग भए नभएको छानबिनबाट अवगत हुनेछ, प्रदर्शनकारी र प्रहरी घाइते भएकामा दुःख व्यक्त गर्न चाहन्छु’, गृहमन्त्री थापाले भने ।

उनको जवाफपछि प्रश्न गर्नुहुँदै सांसद बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशप्रसाद यादवले गृहमन्त्रीको जवाफ तयारी जस्तो देखिएको र छानबिन समिति गठन गरिएको छ छैन स्पष्ट पार्न आग्रह गरे ।

सरकारको संयमता नदेखिएको उल्लेख गर्दै उनीहरुले दमन गर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक छ भनी जिज्ञासा राखेका थिए । सांसदका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले दोषी देखिने प्रहरी र प्रदर्शनकारी दुवैलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार नभएको र प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण नहुने उनले बताए ।

शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन, हस्तक्षेप नगरी संरक्षण नै गर्ने गरिएको गृहमन्त्री थापाले सुनाए ।