अन्तर्राष्ट्रिय

उल्कापिण्ड खसेर महाप्रलय आउने सम्भावना टर्‍यो

By खबरहब

August 11, 2019

एजेन्सी– हालै पृथ्वीको नजिकबाट भीमकाय उल्कापिण्ड गएपछि पृथ्वीमा महाप्रलय आउने सम्भावना तत्कालका लागि टरेको छ ।

१०,४०० माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्ड पृथ्वीभन्दा ४६ लाख किलोमिटर टाढाबाट गएको हो । यसलाई अन्तरिक्षमा निकै नै नजिकको दूरी मानिन्छ ।

१.८६० किलोमिटर ब्यास भएको २००६ क्यूक्यू २३ नामक पिण्ड पृथ्वीमा खस्नसक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

यसको सन् २००६ मा पहिचान गरिएको थियो । यो पिण्ड पृथ्वीमा खसेको खण्डमा कुनै आणविक बम भन्दा ५ सय गुणा धेरै विनाशकारी हुने र यसले लाखौं मानिसहरुको ज्यान जानसक्ने अनुमान गरिएको थियो ।

सन् २०१३ मा रुसको चेल्याबिन्स्क शहरनजिक धेरै सानो आकारको उल्का खस्दा १५ सय जनाभन्दा धेरै घाइते भएका थिए ।

पृथ्वीमा उल्कापिण्डका कारण विभिन्न युगमा महाप्रलय आउने गरेका छन् । साढे ६ करोड वर्षअघि पृथ्वीमा उल्कापिण्ड खस्दा डाइनासोर लोप हुन पुगेका थिए ।