समाचार

एड्स नियन्त्रणमा वार्षिक डेढ अर्ब खर्च, १६ हजार पीडितबारे सरकार बेखबर

By रिता लम्साल

February 12, 2019

काठमाडौं- ‘चिन्ता लिनु पर्दैन, नियमित औषधि सेवन गरेपछि तपाईंकी छोरीलाई केही हुँदैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेवा विभागका प्रमूख डा. अनुप बास्तोला केही दिन अघि एचआईभी संक्रमित २१ वर्षीया युवति र उनकी आमालाई सम्झाउँदै थिए ।

‘एआरटी औषधि सुरु गरेपछि भाइरल लोड कम हुन्छ । नानु केही सोध्न मन लागेको छ ? तपाईंलाई केही सोध्न मन छ ?’ डाक्टर बास्तोलाले उनीहरुको मौनता चिर्ने कोसिस गर्दै थिए । तर, दुबै जना आमाछोरी रसिला आँखा लिएर डाक्टरका कुरा मात्रै सुनिरहे ।

‘एचआईभी संक्रमितले पनि नियमित औषधि सेवन गरे साधारण जीवन बिताउन सक्छन्, आफ्ना काम गर्न सक्छन्। आफ्नो रोगबारे जानकारी गराएर विवाह र सुरक्षित यौन सम्बन्ध पनि राख्न सक्छन्,’ डाक्टर बास्तोला एकोहोरो बोलिरहे।

आफूमा एचआईभी भएको भर्खरै थाहा पाएकी युवति र उनकी आमा केही बोलेनन् ।

उनीहरु दुबैजना बोल्न नचाहेका होइनन्, बोल्न सकेनन्।

मनभित्रको पीडाले होला सायद!

उनीहरूसँग बोल्ने शब्द नै भएन ।

उनीहरु दुबैले धेरै समय डाक्टर अनुपका कुरा समेत सुन्न सकेनन्। आमाछोरी नै रुन थाले ।

उनीहरु निकै बेर रोइरहे। आँखाबाट निस्कने आँशु पुसे। सकेसम्म आवाज भित्रै दबाउने प्रसास गरे। डाक्टर बास्तोला निःशब्द भए। उनले दुई आमाछोरी त सम्हाल्न सकेनन् नै। आफैंलाई समेत सम्हाल्न गाह्रो भयो उनलाई।

तर पेसाले चिकित्सक। भावनामा बहकिएर कर्तव्य बिर्सने छुट छैन उनलाई। कर्तव्यको जिम्मेवारीले भावना दबाउने प्रयास गरे, वातावरण अन्यत्रै मोड्ने प्रयासकै लागि भए पनि सहास गरेर प्रश्न सोधे, ‘तपाईहरुलाई केही सोध्न मन छ ?’

आमाछोरीले नै केही सोध्ने चाहना नभएको प्रतिक्रिया स्वरुप मुन्टो हल्लाए मात्रै । बोल्न सकेनन् ।

भर्खरै एचआईभी संक्रमित भएको थाहा पाएर त्रसित र भावविह्वल बनेका आमाछोरीको अवस्था बुझेपछि डाक्टर बास्तोलाले भने, ‘तपाईंलाई एचआईभी भएको कुरा आमाछोरीमा मात्र सीमित राख्नुस् ।  नियमित औषधि खानुस्। अनि मैले भनेको समयमा चेकअप गराउन आउनुस् है। चिन्ता नलिनुहोस् ।’

डाक्टर बास्तोलाले यति भनेपछि उनीहरुले केही सहज महसुस गरे । र, त्यहाँबाट बाहिरिए ।

डा. बास्तोलासँग बोल्न नसकेका ती आमाछोरी आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै खबरहबकर्मीसँग केही समय छोटो कुरा गर्न तयार भए, लामो समयको कुराकानीपछि।

समाज र परिवारले थाहा पाउँदा नराम्रो व्यवहार गर्नसक्ने भएकाले छोरीको रोगबारे कसैले थाहा नपाओस् भन्ने आमाको चाहना रहेछ ।

‘२१ वर्षकै उमेरमा छोरीलाई एचआईभी भयो। समाजमा थाहा भयो भने नराम्रो व्यवहार गर्न सक्छन् । त्यसैले कसैले थाहा पाउँछन् कि भनेर डर लाग्छ,’ गला अवरुद्ध भयो उनको। थप बोल्न सकिनन्।

ती २१ वर्षीया युवति र उनकी आमा त प्रतिनिधि पात्र मात्रै हुन् । एचआईभी भएको पहिलो पटक थाहा पाउँदा प्रायः सबै जना डराउने गरेको डा. बास्तोलाले खबरहबलाई बताए ।

‘पहिलो पटक एचआईभी भएको थाहा पाएपछि उनीहरु जीवन कसरी सामान्य बनाउनेभन्दा पनि अब समाजले थाहा पाउछ कि भन्ने त्रास बढी हुन्छ,’ डाक्टर अनुपले भने, ‘नियमित औषधि सेवनले एचआईभी सामान्य रोगजस्तै भइसकेको छ, तर हाम्रो समाज अझै परिवर्तन भइसकेको छैन । हामीले एचआईभी संक्रमितलाई समाजले गलत नजरले नहेरोस्, र उनीहरु नियमित उपचारमा आउन् भनेर पनि उहाँहरुको रोग गोप्य राख्छौं ।’

वार्षिक डेढ अर्ब खर्च, सचेतना ‘जस्ताको तस्तै’

नेपालमा एचआईभी एड्स नियन्त्रणका लागि सरकारी तथा गैर-सरकारी क्षेत्रबाट वार्षिक डेढ अर्ब खर्च हुन्छ। एचआईभी एड्सको नियन्त्रण, औषधि उपचार तथा सचेतनाको लागि सरकारी खर्च मात्रै एक वर्षमा करिब ७५ करोड हुने गरेको छ । सरकारले वार्षिक करोडौं खर्च गर्दै आए पनि एचआईभी संक्रमित समाजमा खुलेर बस्नसक्ने अवस्था भने सिर्जना हुन सकेको छैन ।

एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा चिकित्सकले उपचारमा आउने बिरामीलाई समेत ‘आफ्नो रोगबारे कसैलाई नभन्नू’ भनेर सम्झाउनुपर्ने अवस्था अझै छ।

नेपालमा एचआईभी संक्रमित व्यक्तिप्रति सकारात्मक भावना अझै विकास गर्न नसकिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तारानाथ पोख्रेलले बताए ।

यौनजन्य क्रियाकलाप तथा रगतका माध्यमबाट एचआईभी संक्रमण हुने भएकाले पनि समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण फरक रहेको उनले बताए ।

‘कुनै समयमा एचआईभीको कुनै उपचार नै थिएन। डाइग्नोसिस पनि तुरुन्तै हुँदैन थियो । केही वर्षअघि यो रोग भयावह अवस्थाको रूपमा आयो । त्यसैले मानिसहरुको भावना अझै नकारात्मक नै छ,’ डा. पोख्रेलले भने, ‘तर अहिले पहिलाको जस्तो अवस्था छैन । अब एचआईभी संक्रमितमा एड्स हुने अवस्था छैन, नियमित औषधि खाँदा यो रोग सामान्य भइसकेको छ ।’

नेपालमा ३१ हजार एचआईभी संक्रमित, वार्षिक १ हजारको मृत्यु

नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । ती मध्ये १९ हजार २० जना पुरुष र १२ हजार महिला छन् । एचआईभी संक्रमित ३१ हजारमध्ये पनि करिब १६ हजार संक्रमित उपचारको पहुँचमा नरहेको केन्द्रका निर्देशक पोख्रेलले बताए ।

नेपालमा १५ देखि ४९ वर्षको उमेर समूहका व्यक्तिमा एचआईभी संक्रमण दर उच्च रहेको छ । जसमध्ये वार्षिक रुपमा करिब १ हजार जनाको मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ ।

१६ हजार एचआईभी संक्रमित कहाँ छन् ?

एचआईभी संक्रमितलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । तर अझै पनि करिब १६ हजार एचआइभी संक्रमित उपचारका लागि स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको डा. पोख्रेलले बताए ।

‘सरकारले एचआईभी परीक्षण तथा संक्रमितको औषधि उपचार निःशुल्क गरेको छ तर पनि अझै मानिस खुलेर उपचारमा आएका छैनन्,’ डा. पोख्रेलले भने, ‘एचआईभी संक्रमितहरू खुलेर उपचारमा नआउनु हाम्रा लागि पनि चुनौती हो । संक्रमितहरू खुलेर आउने हो भने यो रोगले समस्या ल्याउँदैन।’

समाजको डरले रोग लुकाएर बसेका १६ हजार एचआईभी संक्रमितको अवस्थाबारे सरकार बेखबर छ।