देश/प्रदेश

२५ औं महानगर दिवस भव्यसँग मनाउने तयारीमा काठमाडौं महानगरपालिका

By खबरहब

December 13, 2019

काठमाडौं– २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यससँगै महानगरले घोषणा भएका दिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाइदै आइरहेको छ ।

महानगर घोषणा भएको २५ वर्ष पुगेको छ । शनिवार र आइतवार काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस मनाउने भएको छ । यसका लागि कामपा प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरका शाक्यले नगरबासीका बीचमा बसेर महानगर दिवस मनाउने गरी कार्यक्रम तय गरिएको बताए ।

‘परम्परागत बाद्यबादन, बाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ’ कार्यक्रममा बोल्दै उनले भने ‘हामी बसन्तपुरको खुल्ला ठाउँमा दिवसका कार्यक्रम आयोजना गर्छौ ।’

यस्ता छन् महानगर दिवसका कार्यक्रमहरु

शनिवार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल र्‍याली हुनेछ ।

त्यस्तै दिउँसो १ बजे रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ ।

शनिवार र आइतवार बसन्तपुरमा मौलिकता झल्किने प्रकारका फोटो प्रदर्शनी हुनेछ ।

महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीहरुबाट तयार पारिएका बस्तु तथा सामाग्रीको प्रदर्शनी र मौलिक खाद्यबस्तुको प्रदर्शनी एवं बिक्री गरिनेछ । यसको व्यवस्थापन खर्च महानगरले गर्नेछ भने त्यसबाट प्राप्त आम्दानी सहभागी आफैंले लैजान पाउनेछन् ।

दुवै दिन बसन्तपुरमा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।

महानगर दिवसको उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने छ ।

त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

महानगरले १० जना पत्रकारलाई वितरण गरिँदै आएको महानगर सुशासन पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ ।

दिवसले आपसी सद्भाव र आत्मीयतामा बृद्धि होस् भन्ने भन्ने उद्देश्यले शुक्रवार जनप्रतिनिधि र कर्मचारीकाबीच डोरी तान्ने र घैंटो फोड्ने प्रतियोगिता हुँदैछ ।

त्यस्तै महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता हुनेछ ।

दिवसको अवसर पारेर सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा हुँदैछ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा कविता, निबन्ध तथा खेलकुद उपसमिति गठन गरिएको र ती समितिले आफ्ना—आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको मेयर शाक्यको भनाइ छ ।