आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन, आफ्ना थन्क्याएर निजी एयरलाइन्स पोस्दै

By खबरहब

June 13, 2019

काठमाडौं-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ। आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन्। दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन्। आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चित गरी नियतवश उडानका लागि अयोग्य बनाइएको देखिएको नयाँ पत्रिकामा खबर छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ। तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक परीक्षणबाट वञ्चित गरिएकाले अधिकांश पाइलट उडानका लागि अयोग्य छन्। आन्तरिक उडान प्रभावित हुने गरी केही पाइलटलाई अन्तर्राष्ट्रिय उडानतर्फ पठाइएको छ। त्यसले अन्तर्राष्ट्रियतर्फ ‘ओभर स्टाफिङ’ भएको छ।

आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा भइरहेको छ। एउटा जहाजबाट दैनिक औसत तीन लाख घाटा हुने गरेको निगमले जनाएको छ।जहाज सञ्चालन हुँदा यात्रु बोकेबापत प्राप्त हुने रकमलाई नोक्सानीमा राखिन्छ। त्यस्तै, जहाज ग्राउन्डेड भए पनि बिमा, ग्राउन्ड पार्किङ शुल्क, क्रु मेम्बरलाई दिने तलबभत्तालगायत खर्च नियमित भइरहन्छ। यो रकम पनि निगमको घाटामै जोडिन्छ।

जहाज ग्राउन्डेड हुँदा आव ०७४/७५ मा मात्रै निगमलाई एक अर्ब २१ करोड घाटा भएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। जहाज नउडेपछि चिनियाँ जहाजले निगमलाई ६० करोड ६१ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै दुईवटा ‘एमए सिस्क्टी’ जहाजले एक वर्षमा ३१ करोड ६४ लाख र चारवटा ‘वाई–१२’ जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएको छ। निगमसँग रहेका दुईवटा ट्विनअटर जहाजमध्ये एउटा मात्र सञ्चालनमा छ भने अर्को मर्मतमा छ।