अन्तर्राष्ट्रिय

ओमनको खाडीमा दुई पानीजहाजमाथि आक्रमण

By खबरहब

June 13, 2019

मध्यपूर्वमा अस्थीरता बढ्ने संकेत देखिरहेका बेला ओमनको खाडीमा दुई मालवाहक पानीजहाजलाई लक्षित गरी आक्रमण भएको छ ।

हर्मुजको स्ट्रेटनजिक तेल बोक्ने दुई पानीजहाजलाई लक्षित गरी आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि पानीजहाजका चालक दलका सदस्यलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ ।

आक्रमणमा परेका पानीजहाजमा फ्रन्ट अल्टेइर नामक मार्शल टापुको ध्वजावाहक र अर्को कोकुका करिजियस नामक पानामाको ध्वजावाहक पानीजहाज रहेको जनाइएको छ । दुबै पानीजहाजका चालकदलका सदस्य सुरक्षित छन् ।

आक्रमणमा कसको हात छ भन्ने स्पष्ट नभएपनि यसअघि साउदी अरबले इरानमाथि यस्तो आक्रमण गराएको आरोप लगाउँदै आएको छ भने इरानले यस्तो आरोप खण्डन गर्दै आएको छ । अमेरिकाले इरानलाई लक्षित गरी मध्यपूर्वमा सैनिक उपस्थिती बढाइरहेका बेला पछिल्लो आक्रमण भएको हो ।

एक महिना अघि पनि हर्मुजको स्ट्रेटनजिकै संयुक्त अरब इमिरेट्सको जलक्षेत्रमा चार पानीजहाजलाई लक्षित गरी आक्रमण भएको थियो । हर्मुजको स्टे«टबाट विश्वको पाँच भागको एक भाग तेल निर्यात हुने गरेकाले त्यस क्षेत्रलाई रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ ।