समाचार

मृतकका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय, संघीय सरकारसँग हेलिकोप्टर मगाउने

By खबरहब

July 13, 2019

जनकपुर- बाढी र डुबान प्रभावितका परिवारलाई प्रदेश नम्बर २ सरकारले आर्थिक राहत उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले बाढीपहिरोका कारण मृतकका परिवारलाई ३/३ लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।

शनिवार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई प्रभावकारी बनाउँदै मृतकका परिवारलाई राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न सबैमा आह्वान समेत गरेको छ ।

राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।