फाइल तस्वीर

देश/प्रदेश

राजधानीका २० विद्यालयमा संस्कृत पठनपाठन शुरु

By खबरहब

July 13, 2019

राजधानीका २० वटा संस्थागत विद्यालयमा प्राचीन भाषा संस्कृतको पठनपाठन शुरु भएको छ ।

जीयर शैक्षिक संस्था नेपाल र विकास तरङ्गिणीको १२औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौँको बत्तिसपुतलीमा आयोजित रक्तदान तथा सत्सङ्ग कार्यक्रममा संस्थाका सल्लाहकार एवं सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले यस्तो जानकारी दिए ।

सामाजिक रुपान्तरणमा युवाको परिचालन र पूर्वीय दर्शनको विकासमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

राजधानीका २० वटा विद्यालयमा पढाइ भइरहेको संस्कृत विषयको र पाठ्यक्रम र पाठ्यपुस्तकसमेत संस्थाले तयार पारेर विद्यालयलाई उपलब्ध गराएको अध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।

संस्थाले विगत १२ वर्षदेखि रक्तदान, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान, आध्यात्मिक प्रवचन लगायतका कार्य गर्दै आएको छ । संस्थाले हालसम्म विभिन्न जिल्लामा सञ्चालन गरिएको ५६ वटा स्वास्थ्य शिविरमा आठ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त नन्दीरात्रि माध्यमिक विद्यालयमा सात कोठे भवन निर्माण गरेको पनि संस्थाले जनाएको छ । कार्यक्रममा ४१ जनाले रक्तदान गर्नुभएको जानकारी पनि सो अवसरमा दिइयो । पछिल्लो समय संस्कृत अध्यापन गराउन चाहने विद्यालयको सङ्ख्या बढ्न थालेको सो अवसरमा जानकारी गराइयो ।