समाचार

तीनकुनेको पुल निर्माणमा गम्भीर त्रुटी गरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न निर्देशन

By खबरहब

June 14, 2019

काठमाडौं– संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो । दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले सो पुलको पुन डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ ।