देश/प्रदेश

प्रहरी कुट्ने समाजवादी पार्टीका नेता उमेश यादव पक्राउ

By खबरहब

August 14, 2019

विराटनगर– मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा समाजवादी पार्टीका नेता उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति विराटनगर रोडशेष चोकमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको पाएपछि प्रहरीले यादवलाई रोकेको थियो । मोटरसाइकल रोकेपछि यादवले प्रहरी जवान श्यामकुमार चौधरीमाथि हातपात गरेका थिए ।

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएपछि प्रहरीले पछाडि बसेका यादव र मोटरसाइकल चालकलाई पनि पक्राउ गरेको थियो । मोटरसाइकल चालक बुधबार बिहान छुटेका छन् ।

पक्राउ परेका यादवमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजुले जानकारी दिए ।

यादव स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम र तत्कालिन माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका व्यक्ति हुन् । उनी तत्कालिन संघीय समाजवादी फोरमको मोरङ जिल्लाको पूर्वअध्यक्ष पनि हुन् ।