फाइल फोटो

आर्थिक

देशको नाम कृषि प्रधान, काम सबै सामान आयात गर्ने

By खबरहब

April 15, 2019

काठमाडौं-पछिल्ला केही वर्षदेखि खाद्यान्नको आयात समेत उच्च गतिमा बढ्ने क्रम रोकिएको छैन।

कृषिप्रधान देश भनेर भनिएपनि खाद्यान्नको आयात बढिरहेका कारण व्यापारघाटा समेत उच्च हुदै गइरहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०७३/२०७४ मा २४ अर्ब बरारबरको चामल आयात भएकोमा ०७४/०७५ मा त्यो रकम बढेर ३० अर्ब रुपैया पुगेको थियो ।

चालु आर्थिक वर्षमा पनि चामलको आयात बढ्ने अनुमान गरिएको छ । पहिलो ५ महिनामा मात्रै साढे १३ अर्बभन्दा बढिको चामल आयात भएको तथ्याङ्क छ । पहाडी जिल्लाको प्रमुख खाद्यान्न मकैको आयातसमेत बढिरहेको छ । २ वर्षअघि साढे २ अर्ब रुपैयाभन्दा बढिको मकैको आयात भएकोमा अघिल्लो आर्थिक वर्षमा त्यो रकम बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मात्रै साढे ५ अर्बको मकै आयात भएको छ । कुखुरापालन व्यवसाय बढ्दै गएका कारण दाना उत्पादनका लागि मकैको आयात बढेको मन्त्रालयले दाबी गरेको छ ।

नेपालका हिमाली जिल्लाको स्याउले बजार नपाएको गुनासो आइरहेका बेला नेपाली बजारमा भने विदेशी स्याउ नै बढी छ । २ वर्षअघि ४ अर्ब ८७ करोडको स्याउ आयात भएकोमा अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ६३ करोड रुपैयाको स्याउ आयात भएको थियो भने चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ ।