इनसाइट/स्पेशल

नेपाल भ्रमण वर्ष सफल बनाउन तीन देशका तीन महिला लागे सगरमाथा

By खबरहब

April 15, 2019

काठमाडौं– ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको तीन जना महिलालाई सोमबार बिदाई गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाडौंमा एक कार्यक्रममा बीच विदाई गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि विदाई गरे । उनले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले सो आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पारे ।

सचिव सापकोटाले तीन वटै देशका नारीहरुको यो सगरमाथा आरोहणले नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे नेपालकी तामाङले यस अघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसकेकी छिन् ।

भारतकी दासले यसअघि ६ हजार मिटर उचाईका विभिन्न हिमालहरुको सफल आरोहण गरेकी छिन् भने चीनकी लियामूले सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर विदाई गरिसक्नु भएको थियो ।

आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।