फाइल फोटो

इनसाइट/स्पेशल

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन इयू सकारात्मक, विभिन्न देशका राजदूतको चासो

By खबरहब

February 16, 2019

काठमाडौं–नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली संघ (ईयू)ले सकारात्मक संकेत दिएको छ । नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटेर नेपालले हवाई क्षेत्रको विकासका लागि गरेको पहलको प्रशंसा पनि गरेका छन् ।

हवाई क्षेत्रको सुरक्षा महत्वपूर्ण रहनेभन्दै उनीहरुले सुरक्षाको न्युनतम मापदण्डलाई ख्याल गरिदिन पनि आग्रह गरेका छन् ।

नेपालले तय गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफूहरु लागि पर्ने बताउँदै उनीहरुले युरोप र नेपालबीच सिधा हवाईजहाज सञ्चालनको चाहना भएको र नेपालको पर्यटन प्रबद्र्धनका लागि काम गर्ने पनि बताएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले नेपाललाई हवाई ‘सुरक्षा सूची’बाट हटाउन न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन, नियामक निकाय प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा अघि बढाउने के कस्तो तयारी छ तथा अरू सुरक्षा प्रणाली अपनाउनेबारे कस्तो प्रगति भएको छ भनी जिज्ञासा राखेका थिए ।

जवाफमा पर्यटनमन्त्री अधिकारीले ईयूको चासो नियामक निकायलाई दुई भिन्न निकायको रुपमा स्थापित गर्ने आवश्यक प्रक्रिया अघि बढेको जानकारी गराएका थिए । उनले सुरक्षा सूचीबाट नेपाल चाँडो हटेको खण्डमा पर्यटन र आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने बताएका थिए ।

सन् २०१३ मा नेपालको हवाई सुरक्षा अवस्था कमजोर रहेको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको थियो । युरोपियन युनियनका अनुसार अन्तराष्ट्रिय उड्डयन मापदण्ड परिपालन न्यूनतम ६० प्रतिशतले रहनुपर्नेमा हाल ८० प्रतिशत परिपालन भइसकेको प्राधिकरणले जनाएको छ ।