समाचार

साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको नेपाल सरकारबाट निन्दा

By खबरहब

September 16, 2019

काठमाडौं– साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएका आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा गरेको हो । गत शनिबार साउदी अरबको अबकएक र खुराइश क्षेत्रस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको थियो ।

विज्ञप्तिमा मन्त्रालयले व्यवसायिक क्षेत्रमा यस्तो किसिमको आक्रमण हुनु दुर्भाग्यपूर्ण रहेको जनाएको छ ।नेपाल राजनीतिक उद्देश्य प्राप्तिका लागि शक्ति र हिंसाको प्रयोगको विपक्षमा रहेको समेत परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

साउदीले आफ्ना दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि उत्पादनमा आधा कटौती गरेको छ । योसँगै विश्व बजारमा पछिल्लो चार महिनामा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ ।

उता, अमेरिकाले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ । इरानले भने आफ्नो संलग्नता रहेको भन्ने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।