समाचार

गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार

By खबरहब

December 17, 2019

जनकपुरधाम– उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् ।

न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

जनकपुरको भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा ‘जानकारी’ गराएकी थिइन् ।

हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ ।

अहिले प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा छिन् । प्रहरी कार्यालयको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् ।

बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै ‘डराउनका लागि हतियार लगेको हुनसक्ने’ बयान दिएकी छन् ।