फाइल फोटो

पर्यटन

समाजमा उच्छृंखल गतिविधि देखिन थालेकोमा पर्यटनमन्त्री भट्टराईको चिन्ता

By खबरहब

September 17, 2019

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृंखल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उच्छृंखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले समाजमा हुने अराजकता र उच्छृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यमबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने स्पष्ट पारे ।

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘त्यस्ता खालका कोशिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराए । विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि मन्त्री भट्टराईले जोड दिए ।