समाचार

सरकारको काम गर्ने शैली ठिक छैन–वैद्य

By खबरहब

May 18, 2019

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको आरोप लगाएका छन् ।

सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता जनाऊन आयोजना गरिएको अन्तर्क्रिया कार्यत्रममा उनले जनतालाई झुक्याउन सरकार समाजवादतर्फ उन्मुख भएको आरोप लगाए ।

नेता वैद्यले लेखेकै भरमा पत्रकारलाई थुनछेक गर्ने, जेल हाल्ने र अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउन दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई स्वतन्त्र हुनबाट अङ्कुश लगाउने कार्य निरङ्कुश भएको बताए । उनले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारको आन्दोलनमा आफ्नो पार्टी सहभागी हुने धारणा राखे ।