त्रिवि सेवा आयोग : प्रश्नपत्र निर्माणदेखि नतिजासम्म त्रुटि

By खबरहब

June 18, 2019

काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म त्रुटि भएको पाइएको हो । आयोगले नियम मिच्दै एकलौटी तरिकाले प्रश्नपत्र निर्माणदेखि नतिजा निकालेको पाइएको राजधानी दैनिकमा खबर छ ।

परीक्षा प्रक्रियामा लोकसेवा आयोगका एक जना सदस्यको अनिवार्य उपस्थिति हुने प्रावधान छ । तर, लोकसेवा आयोगका सदस्य ब्रह्मदेव रायले त्रिविको परीक्षा प्रक्रियामा आफूलाई औपचारिकता निभाउन मात्रै बोलाइएको बताए ।

उनले भने, ‘मन लागेपछि बोलाउने, मन नलागेपछि नबोलाउने काम भएको छ । लोकसेवा आयोगको अनुभवका आधारमा जानुपर्छ भन्दा पनि सल्लाह नमानेको पाएँ ।’ प्रश्नपत्र बनाउनेदेखि परीक्षणसम्मको गोपनीयतामाथि प्रश्न चिह्न उठेको स्रोतले बताएको छ ।

आयोगले प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा आयोगका पदाधिकारी र सत्तारुढ दलका नेताका नातेदारहरूको नाम निस्किएको भन्दै तीव्र विरोध भएको थियो । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले लिएको परीक्षा सन्दर्भमा भइरहेको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनियमितता देखिए प्रमाणसहित अदालतमा जाने बताए । उनले भने, ‘हामीले अन्तर्वार्ताको नतिजा रोक्न भनेका छौं । अनुसन्धान अन्तिम चरणमा पुगेको छ । ’

नेपाली स्याटेलाइटले सुरु गर्‍यो काम शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । गत ५ वैशाखमा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपराह्न ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट–१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्यु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट ५ वैशाख राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । अमेरिकाको भर्जिनियास्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटसँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

स्पेस इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभास मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको छ । स्याटेलाइटमा नेपालको झन्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरूको नाम पनि छ ।

त्यस्तै पत्रिकाले भक्तपुरमा अत्यधिक कित्ताकाट, ‘स्मार्ट सिटी’ बिगारिँदै शीर्षकमा समाचार छापेको छ । कित्ताकाट रोक लागेपछि चोरबाटोबाट कित्ताकाट गर्नेको संख्या ह्वात्तै बढेको छ ।

प्लानिङ गर्नेदेखि विभिन्न बहानामा कित्ताकाट गर्दै जग्गा खण्डीकरण गर्नेको चलखेल बढिरहेको हो । चोर बाटोबाट कित्ता काट गर्दै सरकारले घोषणा गरेको ‘स्मार्ट सिटी’को स्वरुप बिगार्न जग्गा चलखेलकर्ता लागिपरेका छन् ।

जग्गा सम्याउने र संयुक्त नाममा कित्ताकाट मुद्दा दर्ता गर्दै खण्डीकरण गर्ने गरिएको पाइएको छ । नयाँ कानुन लागू भएपछि दैनिक एकभन्दा बढी कित्ताकाटका मुद्दा भक्तपुर जिल्ला अदालतमा दर्ता हुने गरेका छन् ।

अदालतका अनुसार जिल्लामा चालू गत जेठमा कित्ता काटका मुद्दा ४ ८६ वटा दर्ता भएका छन् । संयुक्त नाममा पास जग्गा ‘अलग गरी पाउँ’ भनी मुद्दा लिएर आउने गरिएको पाइएको छ । जसअनुसार अदालतले कित्ता काटका लागि अनुमति दिएपछि खण्डीकरण गरेको जमिन विक्री गरेको खुल्न आएको छ । जसका कारण ‘प्लानिङ’ बढ्दै गएको छ ।

जिल्ला अदालत भक्तपुरका श्रेष्तेदार कृतबहादुर बोहराका अनुसार मुद्दाको अधिकांश कित्ता काट हुने गरिएको छ । अधिकांश प्लानिङका नै हुने गरिए पनि अदालतले ‘यो विक्रीका लागि नै हो भनी रोक गर्न मिल्दैन,’ श्रेष्तेदार कृतबहादुर बोहरा भन्छन्, ‘यसैले कित्ता काटका नाममा जग्गा प्लानिङ मैलाएको हो ।’