रोजगार

भारत जाने नेपाली श्रमिकको व्यवस्थापन गर्न सरकारलाई सुझाव

By खबरहब

July 18, 2019

काठमाण्डौं– राष्ट्रिय मानव अधिकार आयोगले रोजगारीका लागि भारत जाने नेपाली कामदारको तथ्याक संकलन र व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले हालै गरेको आप्रवासी कामदारहरुको अधिकारको अवस्था सम्बन्धी अनुसन्धानले रोजगारीका लागि छिमेकी मुलुक भारत जाने नेपाली कामदारको संरक्षण, पहिचान र उनीहरुले नेपालमा सुरक्षित रुपमा रकम पठाउने व्यवस्था मिलाउन व्यवस्था गर्न आयोगले सरकारलाई सुझाव दिएको हो । सरकारले जसका लागि द्विपक्षीय कुटनीतिक पहल गर्नु पर्ने आयोगले औँल्याएको छ ।

आयोगको अनुसन्धानले नेपाल सरकारले २०७३ माघ ११ गते भारत रोजगारीमा जानेहरुलाई कल्याणकारी कोष र बिमाको दायरामा ल्याउने भनेर घोषणा गरिएको कार्यक्रम अझै लागू नभएकाले यो कार्यक्रम लागू गर्नु भनिएको छ ।

आयोगले भारतमा रोजगारीका लागि जानेहरुको संरक्षणका लागि अन्य प्रभावकारी कार्यक्रमहरु लागू गर्न पनि भनिएको छ । हाल भारतमा ७ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । वार्षिक रोजगारीका लागि करिब २ लाखभन्दा धेरै नेपाली काम गर्न भारत जाने गरेको आयोगको अध्ययनमा भनिएको छ ।

खुला सिमाना भएका कारण भारत जाने नेपालीको स‌ंख्या बढिरहेको छ । पछिल्लो समय नेपाली महिला रोजगारका लागि भारत जाने क्रम बढ्दो छ । उनीहरुको सुरक्षाका लागि पनि पहल गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।