नेटवर्किङको जालो– कम्पनी भारतमा, ठगी नेपालमा

By खबरहब

June 19, 2019

आज प्रकाशित कान्तिपुर दैनिकले नेटवर्किङमा फसाइँदै सयौं युवा शीर्षकको समाचार प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशन गरेको छ । समाचारमा कम्पनी भारतमा हुने र ठगी चाहिँ नेपालमा गरिँदै आइएको जनाइएको छ ।

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए ।

काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए ।

त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्याएर अरुलाई सदस्य बनाउने ।

दुर्गासिंह भने गोरखपुरको कुडाघाटास्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । उनले पनि त्यहाँ तालिम लिए र २० हजार भारुको औषधि किनेर कम्पनीको सदस्य बने ।