रिपोर्ट

राजश्व नतिर्ने क्यासिनोमा सरकारको एक्सन

By खबरहब

February 19, 2019

काठमाडौं– तत्कालीन समयमा नेपाल रिक्रिएसन सेन्टर अन्तर्गत चलेका चारवटा क्यासिनोबाट मात्र ३५ करोड ४० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ । खबरहवले क्यासिनोबाट उठ्नु पर्ने बक्यौताको समाचार उजागर गरेपछि रिक्रिएसन सेन्टरविरुद्ध सरकारले एक्सन लिएको छ ।

अहिले पर्यटन विभागले क्यासिनोको बक्यौता नतिरेर फरार रहेको ‘नेपाल रिक्रिएसन सेन्टर’को साढे तीन रोपनी जग्गा लिलाम पक्रिया अगाडि बढाएको छ । पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले भने– ‘पटक–पटक ताकेता गर्दा पनि रिक्रिएसन सेन्टरले बक्यौता नतिरेपछि उसको नाममा रहेको सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

महानिर्देशक घिमिरेका अनुसार, विभागले कम्पनीको नाममा रहेको कालिमाटीको जग्गा लिलाम प्रक्रिया अगाडि बढाएको हो । उनले भने– ‘निर्णय भइसकेको छ अब हामी सार्वजनिक सूचना निकालेर जग्गा लिलाम गर्ने प्रक्रिया अगाडि बढाउने छौं ।’

रिक्रिएसन सेन्टरले होटल अन्नपूर्णको क्यासिनो अन्ना, होटल सोल्टीको क्यासिनो नेपाल, होटल ह्यातको क्यासिनो तारा र एभरेष्ट होटलको क्यासिनो एभरेष्ट सञ्चालन गरेको थियो ।

यसका सञ्चालक भारतीय नागरिक राकेश वादवा हुन् । चार वटा क्यासिनोबाट उठ्नुपर्ने बक्यौता रकम ३५ करोड ४० लाखको जरिवाना शुल्क जोड्दा अहिले झन्डै एक अर्ब रुपैयाँ उठ्नुपर्ने देखिन्छ ।