रोजगार

युवालाई नेपाली श्रम बजारमै आकर्षित गर्नुपर्छ

By खबरहब

February 19, 2019

नेपाली श्रम बजार विस्तारै व्यवस्थित हुँदैछ । निजी क्षेत्रसँग सरकारले राम्रो समन्वय गर्न सके वर्षेनी ३ लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने अवस्था छ । युवा पुस्तालाई स्वदेशकै रोजगारीमा आकर्षण गर्नुपर्ने मुख्य चुनौती सबै सँग छ । स्थिर राजनीतिक अवस्था तथा बन्द अवस्थामा रहेको व्यवसाय सञ्चालनले पनि रोजगारी बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा रोजगारीको अवस्था, बाध्यकारी वैदेशिक रोजगारी अन्त्यका लागि अपनाउनु पर्ने उपाय लगायतका विषयमा खबरहवकर्मी रमेश भारतीले सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्ववराज डल्लाकोटीसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

आन्तरिक श्रम बजारको अवस्था कस्तो छ ?

– नेपालमा २०४६ सालको परिवर्तन पछि खुल्ला बजार उदारीकरण नीतिअनुसार ‘आउटसोर्सिङकम्पनी’ खोल्न क्रम बढ्दो छ । हाल, नेपालभित्र करिब १ हजार ३ सय आउटसोर्सिङ कम्पनी दर्ता भएका छन् । जसमध्ये करिब ४ सय वटा कम्पनीले आन्तरिक श्रम बजारमा रोजगारीका क्षेत्रमा काम गरिरहेका छन् ।

श्रम ऐन २०७४ अनुसार आउटसोर्सिङ कम्पनीले पनि श्रम ईजाजत लिनु पर्ने कानूनी व्यवस्था छ । अहिले श्रम विभाग र श्रम कार्यालयहरुमा करिब २ सय वटा सेक्यूरिटी कम्पनीहरु दर्ता भएका छन् । आउटसोर्सिङ क्षेत्रमा सुरक्षागार्ड श्रमिक मात्र करिब २ लाख कार्यरत छन् । पछिल्लो समय आन्तरिक श्रम बजार सुधारिदै जादाँ रोजगारीका अवसर धेरै निर्माण हुँदै गएका छन् । सरकारले यो क्षेत्रलाई व्यवस्थित गर्न गम्भीर भएर काम गर्नुपर्छ ।

देशभित्र रोजगारीका अवसर सिर्जना हुने वातावरण कस्तो छ ?

– देशभित्र औद्योगिक क्षेत्रमा विदेशी लगानी बढाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ । त्यसपछि रोजगारीका अवसर धेरै सिर्जना हुन्छन् । अहिले उद्योगमैत्री वातावरण बन्दै गएका कारण पनि आन्तरिक श्रम बजारमा रोजगारीका अवसर धेरै सिर्जना हुँदैछन् ।

अस्थिर राजनीति, द्वन्द्वलगायतले नेपाली श्रम बजार व्यवस्थित नहुँदा लाखौ नेपाली युवा रोजगारीका लागि विदेश जान बाध्य भए । अब यो क्रमको अन्त्य हुँदैछ । बन्द कलकारखाना सञ्चालन हुन थाले । रोजागरीको माग पनि बढ्दैछ ।

वार्षिक कति युवालाई नेपाली श्रमबजारमा रोजगारी दिन सकिएला?

-आउटसोर्सिङ कम्पनीहरुले सम्बन्धीत कार्यालय, प्रतिष्ठानको मागअनुसार जनशक्ति उपलव्ध गदै आएको छ । मागअनुसार जतिपनि परिचालन गर्न सकिन्छ ।

हाल करिब ३५ लाख श्रमिक आन्तरिक श्रम बजारमा कार्यरत छन् । घरेलु कामदार, निर्माण क्षेत्र, पर्यटन, उद्योग, कृषिलगायतका क्षेत्रमा वार्षिक ३ लाख रोजगारी सिर्जना गर्न सकिन्छ ।

यसका लागि सरकार सरकार गम्भीर भएर काम गर्नुपर्छ । आउटसोर्सिङ र सरकारले आन्तरिक श्रम बजारमा रोजगारीको अवसर व्यवस्थापन गर्ने सहकार्य गर्नुपर्छ । आउटसोर्सिङ कम्पनीलाई रोजगारी खोज्न सरकारले सहज वातावरण बनाउनुपर्छ ।

सरकारले पाँचवर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने घोषणा गरेको छ, कति सम्भव होला?

-सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको संख्या न्यूनीकरण गर्ने हो । बाध्यकारी वैदेशिक रोजगारीको अन्त्यका लागि स्पष्ट नीति चाहिन्छ । पहिलो कुरा कस्ता व्यक्ति वैदेशिक रोजगारीमा छन्, त्यो अध्ययन गर्नुपर्छ । जसले खाडी तथा मलेसियामा रोजागरीमा जानेको संख्या घटनाउन सकिन्छ । नेपाली श्रमिकको अवस्था बुजेर योजना बनाए सम्भव छ । तर, बिना योजना सम्भव छैन् ।

निर्माण क्षेत्रमा काम गर्न नेपाली श्रमिक नपाएर ठुला आयोजनाले भारत र बंगलादेशबाट श्रमिक आपूर्ति गदै आएका छन् । निर्माण क्षेत्रमा भारत र बंगली श्रमिकको भर पर्नुपर्ने अवस्था छ । यहाँ नेपाली श्रमिकको प्रयोग गर्न सकिन्छ ।

अस्थिर राजनीति, द्वन्द्व लगायतले नेपाली श्रम बजार व्यवस्थित नहुँदा लाखौ नेपाली युवा रोजगारीका लागि विदेश जान बाध्य भए । अब यो क्रमको अन्त्य हुँदैछ । बन्द कलकारखाना सञ्चालन हुन थाले । रोजागरीको माग पनि बढ्दैछ ।

सरकारले हाल सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रमले श्रमिकलाई कतिको फाईदा पुग्छ ?

– सरकारले श्रमिकका लागि भनेर सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोषको कार्यक्रम श्रमिकमैत्री छ । यो योजनाले श्रमिकलाई धेरै फाईदा पुग्छ । आन्तारिक श्रम बजारमा रोजगारीका लागि आकर्षण पनि बढाउँछ । तर, कार्यन्वयन गर्न गराउन सम्बन्धीत निकाय लागि गर्नुपर्छ ।

अहिले सरकारले तोकेको न्युनतम पारिश्रमिकले कामदारको जिविका चल्छ ?

– सरकारले चालु आर्थिक वर्षमा निधारण गरेको न्यूनतम पारिश्रमिकले ज्यालादार श्रमिकलाई घर परिवार चलाउन मुस्किल हुन्छ । पारिश्रमिक वृद्धिले केही खुसी दिलाए पनि महँगीले ढाड सेकेको छ ।

धेरै ठाउँमा श्रमिकले न्यूनतम पारिश्रमिकसमेत रोजगारदाताले समयमै उपलब्ध नगराउँद थप समस्या छ ।

तलव भत्ता वृद्धि गर्दा समय सापेक्ष हुनुपर्दछ । महंगीलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अन्यथा यो पारिश्रमिकले कामदारको जिबिका चल्दैन ।

देशभित्र काम गर्नेको अवस्था कस्तो छ ?कुनकुन क्षेत्रमा काम गरिरहेका छन्?

– देशभित्र निजामती, सुरक्षा निकाय (नेपालप्रहरी, सेना, सशस्त्र प्रहरी, शिक्षकबाहेक ज्यालादारी क्षेत्रमा काम गर्नेको संख्या ३५ लाख रहेको हाम्रो अनुमान छ । उद्योग क्षेत्रमा धेरै श्रमिक छन् । आउटसोर्सिङमार्फत देशभर करिब ३ लाख सुरक्षा गार्डमा कायरत छन् । घरेलु महिला कामदारको हकमा सम्बन्धीत व्यक्तिले आफ्नो अनुकुल कामदार राख्ने हुदाँ यकिन विवरण छैन । तर, पनि घरेलु महिला कामदारको माग दिनप्रतिदिन बढदो छ ।

यो क्षेत्रमा काम गर्न महिला कामदारलाई सरकारले व्यवस्थापन गर्न सके राजधानीमा मात्र वार्षिक ५० हजार कामदारको माग आउँछ । देशभर करिब ३ लाख घरेलु कामदार कायरत छन् ।

हाल, वैदेशिक रोजगारीमा गइरहेका महिला घरेलु कामदारलाई आन्तरिक श्रम बजार भित्रै घरेलु कामदारको रुपमा रोजगारी दिन सकिन्छ ।

युवालाई स्वदेशी रोजगारीमा आकर्षण गर्न के गर्नुपर्ला?

– सरकारले बेरोजगार युवा वर्गको वास्तविक तंथ्याक संकलन गर्नुपर्छ । उनीहरुलाई क्षमता र योग्यताअनुसारको काम राज्यले खोज्न सक्नुपर्छ । रोजगारी दिनेभन्दा पनि स्वरोजगार बनाउने अभियान चलाउनुपर्छ । आफ्नो व्यवसायका लागि अनुदान ऋण र सहुलियत कर्जाको व्यवस्थागर्न सके युवाआकर्षण बढ्छ । सरकारले फागुन १ गतेदेखि सञ्चालनमा ल्याएको प्रधाममन्त्री रोजगार कार्याक्रममार्फत युवालाई उद्यमी र व्यवसायी बनाउन पहल गर्नुपर्छ ।

आउटसोर्सिङबाटै श्रमिक ठगिने गरेको आरोप छ नि ?

– आउटसोर्सिङ कम्पनीले रोजगारदाता कम्पनीसँग श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक सेवा सुबिधा उपलव्ध गराउन सर्तमा कामदारको मार्गअनुसार आपूर्ति गर्छन । श्रमिक कम्पनीमा आपूर्ति गरेअनुसार सेवा सुविधा लिन्छ ।

कतिपय ठाँउमा न्यूनतम पारिश्रमिक उपलव्ध गराउन नसकेको र न्यूनतम भन्दा धेरै पारिश्रमिक दिन आउटसोर्सिङ कम्पनीले सौदावाजी पनि गरेको पाइन्छ । कतिपयले ठग्नकै लागि संस्था खोलेका पनि छन् । यस्ता संस्थालाई कारबाही गर्नुपर्छ । सबै राम्रो नियतका साथ काम गरिरहेका छन् भन्ने चाँही होइन ।

नेपाली युवाले स्वदेमै कामगर्न नचाहेको किन?

-नेपाली समाजमा पैसा कमाउन वैदेशिक रोजगारीमा जानैपर्छ भने मानसिकता छ । सामाजिक रुपमा नै देशभित्रको रोजगारीभन्दा वैदेशिक रोजगारीमा जादाँआफुलाई गर्व ठान्ने प्रचलनका कारणपनि देशभित्र काम गर्ने भावना हराउँदै गएको हो ।

नेपाली श्रम बजारले युवा पुस्तालाई आकर्षण गर्न पनि सकेको छैन् । सबैभन्दा ठुलो समस्या उमेर पुगेपछि पैसा कमाउन विदेश जानै पर्छ भन्ने भावना हो । छोराछोरीलाई विदेश पठाएर आफ्नो व्यवसाय चलाउन खेताला खोज्ने चलनको अन्त्य नभएसम्म आन्तरिक श्रमबजार व्यवस्थित हुँदैन ।