रोजगार

रोजगारी खोज्दै साढे ४१ हजार नेपाली विदेसिए

By खबरहब

February 19, 2019

काठमाडौं- रोजगारी खोज्दै माघ महिनामा साढे ४१ हजार नेपाली विदेसिएका छन् । माघ महिनामा संस्थागत (म्यानपावर कम्पनीमार्फत) र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४१ हजार नेपाली वैदेसिक रोजगारीमा गएका छन् । माघ महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा १८ हजार ४ सय जना र व्यक्तिगतमार्फत २३ हजार ७ जनासहित ४१ हजार ५ सय ६० जना नेपाली विदेसिएका छन् ।

चालू आर्थिक वर्षको पुस महिनाको तुलनामा माघ महिनामा संस्थागत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा बढेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

पुस महिनामा १७ हजार ८ सय ३० संस्थागत रुपमा श्रम स्वीकृति लिएर कामको खोजीमा बाहिरएका थिए । गत मंसिर महिनामा १७ हजार ३ सय ७१ जना कामदार संस्थागत रुपमा वैदेसिक रोजगारीमा गएका थिए । गत वर्ष माघ महिनामा संस्थागत रुपमा १८ हजार ५ सय ५९ जना युवा युवती वैदेसिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको विभागका महानिर्देशक दिलिपकुमार चाँपगाईले जानकारी दिए । रोजगारीबाट फर्किएका युवा देशभित्र उद्यम र व्यवसायतिर लागेकाले रोजगारीको खोजीमा विदेशिनेको संख्यामा कमी आएको उनको भनाई छ ।

पुस महिनाको तुलनमा माघ महिनामा समग्र रुपमा रोजगारीमा खोजीमा जानेका संख्यामा कमी आएको छ । गत महिना ५० हजार १ सय ६८ जना संस्थागत र व्यक्तिगत विदेशिएको विभागको तंथ्याकमा छ ।

बन्द भएको मलेसिया माघ महिनामा संस्थागत रिईन्ट्रीका माध्यमबाट २ हजार ५ सय ६९ जना रोजगारीका लागि गएका छन् । माघ महिनामा यस आर्थिक वर्षका अघिल्ला महिनामा जस्तै सबैभन्दा धेरै नेपाली कामदार संस्थागत रुपमा कतार गएका छन् । मलेसियामा रोजगारी बन्द भएपछि कतार जानेको संख्या सबैभन्दा बढी देखिएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको माघ महिनाको तथ्यांक अनुसार माघमा ५ हजार ८ सय ६५ जना कतार गएका छन् । पुसमा कतार जानेको संख्या ६ हजार एक सय ८६ थियो । गत महिनाको तुलनामा कतार जाने संस्थामा घटेको छ । मंसिर महिनामा ६ हजार ७ सय ६० जना कतार गएका थिए । कतारपछि युएई दोस्रो आकर्षक गन्तव्यका रुपमा देखिएको छ । माघ महिनामा ४ हजार ७ सय १० जना यूएई गएका छन् ।

पुस महिनामा ४ हजार ६ सय ६० जना यूएई गएका थिए । माघमा तेस्रो स्थानको गन्तव्य साउदी अरब रहेको छ । उक्त मुलुक जानेको संख्या ३ हजार ८ सय ३६ छ ।

कुवेत, बहराईन, टर्की, पोल्याण्ड, ओमान, जोर्डन, माल्टा, मकाउ र हङकङमा करिब एक हजार गएको विभागको तंथ्याकमा उल्लेख छ । चालु आर्थिक सुरु भएको ७ महिनामा करिब २ लाख युवा युवती वैदेशिक रोजगारीमा गएको विभागले जानकारी दिएको छ ।