अन्तर्राष्ट्रिय

टर्कीमा ४१८ संदिग्ध कुर्दिस लडाकु पक्राउ

By खबरहब

August 19, 2019

इस्तानबुल– टर्कीले कुर्दिस लडाकु समूहमा लागेको आशंकामा कम्तीमा ४१८ जनालाई पक्राउ गरेको छ । टर्कीको प्रहरीले मुलुकका विभिन्न २९ प्रान्तमा कारवाही गरी ४१८ जना संदिग्ध कुर्दिस लडाकुलाई पक्राउ गरेको हो ।

सोमबार टर्कीको आन्तरिक मामिला मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सन्देश जारी गर्दै यसबारे जानकारी दिएको हो । यसअघि दक्षिणपूर्वी टर्कीका विभिन्न ३ मुख्य शहरका जनप्रतिनिधिलाई बर्खास्त गरी राज्यका अधिकारीलाई त्यहाँको प्रशासनको जिम्मा दिइएको समाचार सार्वजनिक भएलगत्तै टर्कीका ४१८ जना संदिग्ध कुर्दिस लडाकु पक्राउ परेका हुन् ।

टर्कीको दक्षिण पूर्वी क्षेत्रमा कुर्दिस्तान वर्कर्स पार्टी पीकेके नामक लडाकु समूहले बेग्लै कुर्र्दिस्तान राज्यको माग गर्दै टर्कीविरुद्ध युद्ध लड्दै आएको छ । पीकेकेलाई टर्कीले आतंककारी समूहको संज्ञा दिँदै पीकेके विरुद्ध सैनिक कारवाही गर्दै आएको छ । तीन दशकभन्दा लामो समयसम्म जारी युद्धका क्रममा हजारौंको ज्यान गइसकेको छ ।