पर्यटन

जहाज होल्डबारे पर्यटनमन्त्रीको चासो : तत्काल सुधार गर्न निर्देशन

By खबरहब

September 19, 2019

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा पर्यटनमन्त्री भट्टराईले नियामक निकायको ध्यानाकर्षण गराएका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुटेका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डिएमइ) तथा ‘भिएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भिओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ । उक्त प्राविधिक समस्याका कारण विमानस्थलमा करिब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् । मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलका अनुसार भिओआर र डिएमइ उपकरण बिहीबार बिहान १० : ४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो । सो समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकाशमा होल्ड भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ नेपालका तीनसहित २८ वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर एक सय अन्तर्राष्ट्रियसहित चार सय उडान भर्दै आएका छन् ।