नेकपा एकताको १३ महिनापछि राजनीतिक प्रतिवेदन

By खबरहब

June 20, 2019

काठमाडौं-सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको अन्नपूर्ण पोस्टमा खबर छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो। ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले भन्यो, ‘प्रतिवेदन प्रकाशनमा आएपछि कार्यदिशामा देखिन थालेको अन्योल हटेर जान्छ।’

प्रतिवेदन प्रकाशनमा नआउँदा नेकपाको अन्तरिम राजनीतिक कार्यदिशाबारे नेताहरूबीच असमझदारी देखिएको छ। नेकपाले पार्टी एकतापछि अन्तरिम कालका लागि ‘जनताको जनवाद’ लाई कार्यनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो। रणनीतिक लक्ष्य समाजवाद र कार्यनीतिक लक्ष्य जनताको जनवाद बनाउने गरी तत्कालीन एमाले र माओवादीबीच गत वर्ष जेठ ३ मा पार्टी एकता भएको थियो। तत्कालीन एमालेले अवलम्बन गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ तथा माओवादीले अवलम्बन गर्दै आएको ‘एक्काइसौं शताब्दीको जनवाद’ र ‘माओवाद’ लाई एकता महाधिवेशनमा बहसमा लैजाने समझदारी बनेको थियो।

अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशन पनि नहुने र नेताहरूबीचमा कार्यदिशामा मतभेद देखिन थालेपछि तत्कालीन एमाले र माओवादी खेमाबीच भित्रभित्रै विवाद देखिन थालेको थियो।

वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु शीर्षकको समाचारमा वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यूनपारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्।

आर्थिक वर्ष ०६६/६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ। त्यसमा २१ जना महिला थिए।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने बताए। यसका लागि सरकारले द्विपक्षीय श्रम सम्झौता गरेरमात्र कामदार पठाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै सैन्य सहकार्यमा रक्षा कूटनीति शीर्षकको समाचारमा नेपाल र अमेरिकाबीच सैन्य सहकार्य थप कसिलो बनाउन गृहकार्य सुरु भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को इन्डो–प्यासिफिक रणनीति प्रतिवेदनमा नेपाल जोडिएपछि सरकार यसतर्फ सक्रिय भएको हो।

दुवै छिमेकी भारत र चीनलाई विश्वासमा लिँदै शक्ति मुलुकसँग सहकार्य गर्न प्रधानसेनापतिमार्फत रक्षा कूटनीति अवलम्बन गरिएको रक्षा मन्त्रालयका उच्च अधिकारीले बताए। पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग लामो समयदेखि रोकिएको सहयोग फुकाए पनि प्रक्रिया अघि बढाउने काम वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका छन्। अमेरिकाले नेपाललाई दिने सैन्य सहायता र त्यहाँबाट खरिद गर्ने भनिएको एम–१६ हतियार नेपाल भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

चीन भ्रमणमा रहेका थापा केही समयपछि साताव्यापी भ्रमणका लागि अमेरिका जाँदै छन्। उनले अमेरिकी अधिकारीहरूसँग नेपालसँगको सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ। प्रधानसेनापति थापा राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुने क्रममा अमेरिकाको दुईपक्षीय भ्रमण गर्न लागेका हुन्। थापा न्युयोर्कमा शान्ति सेना पठाउने मुलुकका प्रधानसेनापतिको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि थापा डिसी जानेछन्। त्यहाँ उनले सैन्य सहकार्य र सहायताबारे अमेरिकी अधिकारीसँग छलफल गर्ने परराष्ट्र अधिकारीले बताए।