अन्तर्राष्ट्रिय

अमेरिकामा सात महिने बालक मेयर बने, बुबाआमाका काखमा बसेर लिए सपथ

By खबरहब

December 21, 2019

एजेन्सी- अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक विलियम चार्ली म्याकमिलन मेयर चुनिएका छन् । सात महिनामै मेयर चुनिएका उनी यति सानै उमेरमा मेयर बन्ने पहिलो व्यक्ति हुन् ।

मेयर चुनिएलगत्तै उनले व्हाइटहल कम्युनिटी सेन्टरमा शपथ ग्रहण गरेका छन् । सपथग्रहणका क्रममा उनी बुबाआमाको काखमा थिए । उनको शपथ ग्रहण समारोहमा १५० जना उपस्थित थिए ।

उनलाई गत अक्टोबरमा ग्राइएम्स काउन्टीको मेयर चुनिएको थियो । हरेक वर्ष व्हाइटहलको फायर स्वयंसेवक विभागको वार्षिक बीबीक्यू संकलन कार्यक्रममा मेयर चुनिएको हो । कार्यक्रममा मेयर पदको लागि बोली लगाइएको थियो । जसमा सबैभन्दा कम उमेरका चार्ली पनि सहभागी थिए ।

उनलाई धेरैले समर्थन गरेपछि मेयर बनेका हुन् । यद्यपि, मेयरको काम भने वास्तविक मेयरले गर्ने गर्छन् । मेयर चयन हुँदा र शपथ लिँदा उनी निक्कै खुसी देखिएका थिए ।