अपराध

नातिनी मारेको आरोपमा पक्राउ

By खबरहब

February 21, 2019

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० टोटीकी ७ वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । उनले भने, ‘विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौँ।’

मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताए। दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।