पर्यटन

पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा लिएर नेपाल, चीन र भारतका तीन महिला सगरमाथामा

By खबरहब

May 23, 2019

काठमाडौं–नेपाल भारत र चीनका तीन महिला आरोहीले सफल सगरमाथा आरोहण गरेका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारद्वारा आयोजित नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धनार्थ नेपाल, भारत र चीनका ३ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

दासले शुक्रबार मध्यान १२:३० बजे र अन्य दुईले हिजो विहान सगरमाथा आरोहण गरेका थिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चीनका मा लियामु, नेपालका कान्छी माया तामाङ्ग र भारतका कल्पना दासले प्रधानमन्त्री के.पी. ओली शर्माले हस्ताक्षर गरेको नेपाल पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा सगरमाथाको शिखरबाट फहराएका हुन् ।

“नेपालको पर्यटन क्षेत्रमा मात्र नभई समग्र मुलुकको विकासमा छिमेकी राष्ट्रहरु भारत र चीनको सकारात्मक सहयोग, मित्रता र सहकार्यलाई उजागर गरी भारत तथा चीनका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरणा मिलोस् भनेर यो आरोहण गरेका हौं ।” आरोहण दलका सरदार रेकर्ड होल्डर आरोही पेम्बा दोर्जे शेर्पा बताउँछन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि.को व्यवस्थापनमा सम्पन्न यस आरोहणका आरोहीहरुले यस अघि पनि सगरमाथा लगायत अन्य हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।