मुम्बईमा ५ दलित किशोर ९ महिनादेखि बन्धक

By खबरहब

June 23, 2019

काठमाडौं-राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका ५ जना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको खबर आजको नयाँ पत्रिकाले छापेको छ। सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो। यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन्।

उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए। मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन्। जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए। तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन्।

उनीहरूलाई मुम्बई पुर्‍याएका थिए, लहान–१३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले। महतोले गत १० भदौमा राम्रो काम लगाइदिन्छु भन्दै नौजनालाई मुम्बई लिएर गएका थिए। तर, मुम्बई पुगेपछि महतोले उनीहरूलाई भारतीय दलालको जिम्मा लगाएका थिए। आफू भने मोटो रकम लिएर फर्केका थिए। त्यसयता महतो लहानमै छन्। उनीमाथि उजुरी परे पनि कानुनी कारबाहीको प्रक्रियासमेत शुरु भएको छैन।