अन्तर्राष्ट्रिय

नक्कली रक्षामन्त्री बनेर बैंकबाटै ८० मिलियन यूरो चोरेपछि…

By खबरहब

June 23, 2019

पेरिस– चोर, ठग र लुटेराहरुले विभिन्न उपाय अपनाएर सोझा–साझा व्यक्तिहरुलाई ठगिरहेका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् । तर, कुनै समाचार यतिसम्म अपत्यारिला हुन्छन् कि जो कोहीले कल्पना समेत गर्न सक्दैनन्।

पछिल्लो समय एउटा यस्तै समाचार सार्वजनिक भएको छ । जुन समाचार जो कोहीलाई पत्याउनै गाह्रो पर्छ । घटना हो फ्रान्सको । जहाँ भीआइपी ठगले नक्कली रक्षामन्त्री बनेर ८० मिलियन यूरो चोरेको रहस्य बाहिरिएको छ । फ्रान्सको रक्षामन्त्री जस्तो संवेदनशील मन्त्री बनेर बैंक घोटाला गरेको समाचार सार्वजनिक भएको हो ।

सन् २०१५ देखि फ्रान्सका रक्षामन्त्री जँ युव ल द्रिआँ बनेर एक व्यक्तिले ८० मिलियन यूरो (९० मिलियन अमेरिकी डलर ) बैंकबाट झिकेका छन्। यसमा आगा खान र शातो मागो वाइनका मालिक लगायतका थुप्रै व्यक्ति पनि पीडित भएका छन् । बैंकले उक्त रकम रक्षामन्त्रीले नै झिकेको विश्वास गर्दै आएका थिए।

इस्लामिक संगठनले खाडी क्षेत्रमा बन्दी बनाएका पत्रकारलाई मुक्त गर्न उक्त रकम झिकिँदा पनि बैंक बेखबर थियो। फ्रान्सले बन्धक बनाइएका व्यक्तिका लागि आधिकारिक रूपमा फिरौती रकम दिँदैन। नक्कली मन्त्रीले उक्त रकम चीनमा सार्न भनेका थिए। उनले यस्तै धन्दा गर्दै आएका थिए।

‘यो घटनामा सबै कुरा अपवाद देखिएको छ’, ल द्रिआँका तत्कालीन वकील तथा हाल फ्रान्सकी विदेशमन्त्री दल्फीँ मइलले भनिन्, ‘उनीहरूले पदमै रहेका मन्त्रीको नक्कल गर्ने आँट गरे। त्यसकै आधारमा बैंकका निर्देशकलाई प्रभावमा पारे र ठूलो रकम झिक्न सफल भए।’

किन चोरले मन्त्री द्रिआँलाई नै छाने भन्ने विस्तृत खुलाइएको छैन । फिरौतीको रकम रक्षामन्त्रीले नै माग गर्न सक्ने अनुमानमा चोर फर्जी मन्त्री द्रिआँ बनेको हुनसक्ने बताइएको छ।  केहीले भने रक्षामन्त्री सुरक्षालाई ख्याल गरी यस्तो गरिएको हुनसक्ने बताएका छन्। हाल उक्त मुद्दा विशेष अदालतमा पुगेको छ। गिलबर्ट चिकलीलाई मुख्य मानेर छानबिन भइरहेको छ। हाल उनलाई पेरिसस्थित जेलमा राखिएको छ।

उनलाई यूक्रेनले सुपुर्दगी गरेपछि पेरिस ल्याइएको हो। उनीमाथि संगठित रूपमा धोका दिएको र नक्कली काम गरेको आरोप लगाइएको छ। ट्युनिशियाली यहुदी पृष्ठभूमिका चिकली मजदुर परिवारमा पेरिसमा हुर्किएका थिए। सन् २०१५ मा पनि उनले फ्रान्सेली संस्थाको प्रमुख बनेर रकम निकालेका थिए। त्यतिखेर उनी इजरायल पुगेका थिए। त्यहाँको कानूनअनुसार इजरायलले आफ्ना नागरिकलाई सुपुर्दगी गर्न मानेको थिएन।

अनुसन्धाताका अनुसार केही समयमै उनले मन्त्री बनेर ट्युनिशिया सरकारका लागि टाइगर हेलिकप्टरलाई ठगेका थिए। उनले मन्त्रीको हस्ताक्षर गरी लाखौं यूरोको माग गरेका थिए। पछि अन्तिममा यो फर्जी ठहरिएको थियो ।

उनले फ्रान्सेली रक्षामन्त्री बनेर व्यापारी र अफ्रिकी महादेशका सरकार प्रमुखलाई पनि सहयोग गर्न आदेश दिए। अधिकांश अफ्रिकी मुलुक फ्रान्सका पूर्व उपनिवेश भएकाले फ्रान्सको प्रभाव रहेको छ।

वर्तमान विदेशमन्त्री मइलका अनुसार चिकलीले सिदक्सँ लगायतका संस्था र आर्कबिशपलाई पनि पैसा सहयोग गर्न भनेको अनुसन्धानबाट खुलेको छ । उनले सुरुमा फोन गरेर यो काम गरेका थिए। आफूलाई मन्त्री ल द्रिआँका विशेष सल्लाहकार जँ क्लाउदका रूपमा चिनाएका थिए।

बैंकलाई विश्वासमा पारेपछि उनले मास्क लगाएर मन्त्रीको स्वर बनाएर फोन गर्न थाले। उनले स्काइपमार्फत मन्त्रीको मास्क लगाएर तत्कालीन राष्ट्रपति फ्राँस्वा ओलण्डको झण्डा र फोटो पनि राख्न थालेको अनुसन्धानले देखाएको छ ।