समाचार

भाग्यले बाँचेका दुवाल दम्पत्ती

By सविना कार्की

April 25, 2019

काठमाडौं–प्रत्येक दिनको साँझले तिमिलालाई झस्काउँछ । जब दिन अध्यारो बन्दै जान्छ तब, भक्तपुरकी तिमिला दुवालको मनमा चिसो पस्छ । उनको मानसपटलमा सँधै कालो दिन बनेर आउने गरेको छ २०७२ वैशाख १२ गतेको सम्झना । भूकम्पले सँधै मन काप्ने तिमिला पुनर्जन्म पाएको भन्दै खुसी पनि साट्छिन् ।

वैशाख १२ गते । घडीमा ११ बजेर ५६ मिनेट गएको थियो । जुन दिन हजारौँ नेपालीले ज्यान गुमाएका थिए लाखौँको संख्यामा घाइते भएका थिए, धेरै मानिसहरु घरविहीन बन्न पुगेको थिए भने कति भाग्यले बाँचेका पनि छन् ।

त्यसमध्ये भक्तपुरकी ३३ वर्षीया तिमिला दुवाल पनि एक हुन्। उनका परिवार खेतमा आलु खन्न गएका थिए । भक्तपुर जिल्लाको ‘झौ खेल’ मा तिमिलाको साढे तीन तलाको घर थियो । सबैभन्दा माथिको तलामा भान्साकोठा थियो । उनी श्रीमानको साथमा भान्साकोठामा खाना बनाइरहेकी थिइन ।

‘शुरुमा घर हल्लिए जस्तो लाग्यो, चारैतिर चरा कराइरहेका थिए, मानिसहरुको कोलाहल उस्तै सुनिन्थ्यो’ उनले त्यो दिनको स्मरण गर्दै भनिन् ।

भूकम्प आउँदा कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारे थाहा थियो तर त्यो समय कहाँ दिमागमा आउँदो रहेछ र उनले थपिन । त्यसमाथि उनी गर्भवती थिइन् । उनको पेटमा ९ महिनाको बच्चा थियो ।

‘बिस्तारै घरको सिढी चढ्न त गाह्रो हुने समय भइसकेको थियो, भाग्ने त कुरै छोडौं’ तिमिलाले भनिन् ।

भूकम्प गएको हप्तादिन अघि मोटरसाइकल दुर्घटनामा परी उनका श्रीमानको एउटा खुट्टा भाचिएको थियो । जसले उनी पनि हिड्न सक्ने अवस्थामा थिएनन् ।

‘मेरो त भाग्न सक्ने अवस्था थिएन्, तिमिलालाई चाहिँ भाग् भाग भनिरहेको थिएँ’ उनका श्रीमान राजेश दुवालले भने । अचानक आफूलाई केही भइहाले पनि श्रीमती र बच्चालाई केही नहोस् भन्ने सोचले भाग्न आग्रह गरेको उनले बताए ।

साढे तीन तलामा माथि रहेकी तिमिला जसोतसो दोस्रो तलासम्म त आइपुगिन् । ‘जहाँ खुट्टा टेक्छु त्यहाँ अड्डिदैन, के गर्ने के नगर्ने अतालिएँ, पिलर समाए बेस्सरी र त्यही उभिएँ’ तिमिलाले काहालिलाग्दो दिन सम्झँदै भनिन् ।

‘मलाई त्यति बेला बाँच्छु जस्तो लागेकै थिएन’ उनले सुनाइन् । घर हल्लिएको महशुस भइरहेको थियो ।

अपशोच उनको साढे तीन तले घर ढल्यो । राजेश र तिमिला ढलेको घरमा पुरिए । त्यसपछि उनले केही सुनाउन सकिनन् । घरले पुरिएका उनीहरुलाई खोज्न स्थानीयहरु भेला हुन थाले । खेतमा गएका उनका परिवारका सबै सदस्य घर आइपुगे ।

घरमा आइपुग्दा छोरा बुहारीलाई नै घरले पुर्‍यो रे भन्दा आफूले आफूलाई सम्हाल्न नसकेको राजेशकी आमाले बताइन् । उद्धारका लागि तुरुन्त डोजर ल्याए परिवारले । स्थानीयहरु चिच्याइरहेका थिए । सकुशल भेट्ने हो कि होइन भन्ने कुराले परिवारका सदस्यहरुलाई छटपटि लागिरहेको थियो ।

४ घण्टाको प्रतीक्षापछि तिमिला सामान्य घाइते तर बेहोस अवस्थामा घरको दोस्रो तलामा भेटिइन् । उनलाई घाइते अवस्थामा भेटिएसँगै राजेशलाई खोज्न परिवार आतुर भए ।

नेपालीहरुले भन्ने गरेका छन्– ‘दिन नआएसम्म केही हुदैँन’ । त्यस्तै भयो उनको परिवारलाई । राजेशलाई पनि सामान्य घाइतेकै अवस्थामा भेटियो । उनलाई घुँडामा सामान्य चोट लागेको थियो त्यसैले हस्पिटल जानुपर्ने अवस्था देखिएन ।

तर परिवारले तिमिलालाई भने भक्तपुर अस्पताल लगियो । उनको अनुहारमा गम्भीर चोट लागेको भन्दै उनलाई भक्तपुर अस्पतालले धुलिखेल रिफर गर्दियो । धुलिखेल हस्पिटलले आँखाको छेउमा ४ वटा टाका लगाइदियो । त्यो समयसम्म तिमिलाको होस आइसकेको थियो ।

‘भूकम्पले पुरेको भन्ने थाहा थियो, शरीरको कुनै पनि अंग चल्न नसक्ने जस्तै भएको थियो, जताततै दुख्थ्यो’ उनले भनिन् । ‘भगवान्‌ले मलाई बचाइदिए भन्दै मनमनै भगवानलाई पुकार गरेँ’ उनले भनिन् । तर मनमा एउटै कुराले पिरोल्न थाल्यो उनलाई । त्यो हो गर्भमा रहेको उनको बच्चा ।

पुनर्निर्माणपछिको तिमिलाको घर

एउटी गर्भवती महिलालाई गर्भमा रहेको सन्तानको भन्दा बढि माया कसको होला र ? ‘म त बाच्ने भएँ मेरो बच्चालाई केही भयो कि भन्ने कुराले चिन्तित बनाएको थियो’ उनले भनिन् ।

रिपोर्ट नआउन्जेलसम्म उनलाई निकै छटपटी भइरहेको थियो । केही समयको पर्खाइपछि हस्पिटलको रिपोर्ट आयो । रिपोर्ट सुनेर उनी खुसी भइन । उनको पेटको बच्चा पनि स्वस्थ्य रहेको खबर पाइन । हस्पिटलले तिमिलालाइ तीन दिनपछि डिसचार्ज गरिदियो ।

एकहप्ता पछि तिमिलाले छोरी जन्माइन । अहिले छोरी ४ वर्षकी भइसकिन् । उनी एलकेजीमा पढ्छिन् । तिमिला र राजेशलाईलाई अझै पनि वैशाख १२ गते भन्नासाथ मरेर बाँचेको दिन झै लाग्छ ।

उनले भने, ‘पहिलाको दिन सम्झँदा अहिले पनि दिउँसै रात परेजस्तो हुन्छ। हावाहुरी चल्दा पनि मन नै चिसो हुन्छ भूकम्प आउँछ जस्तो लाग्छ ।’

भूकम्पले भत्किएको उनको घर अहिले पुनर्निर्माण भइसकेको छ । भगवानले हाम्रो परिवारको खुसी खोस्न चाहेनन् दम्पत्तीले मुस्कुराउँदै भने ।