समाचार

मानविकी पढेर चिकित्साको ‘अफर लेटर’!

By खबरहब

July 26, 2019

काठमाडौं- मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् ।

विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’ पठाइदिने गरेको पनि पाइएको छ ।

एउटा विषय लिएर विद्यालय तह पूरा गरेकाहरू उच्च शिक्षा अर्को विषय अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन जाने प्रशस्तै भेटिन्छन् । यस्तो कार्यमा विद्यार्थीलाई उक्साउने काम यहाँका शैक्षिक परामर्शदाताहरूले गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले विद्यार्थीले कुन विषय अध्ययन गर्न सक्छन्, कुन गर्न सक्दैनन् भन्ने विदेशी विश्वविद्यालयले हेक्का नराख्ने बताए । विदेशी विश्वविद्यालयलाई विद्यार्थी चाहिएको हुन्छ, त्यसैले जसलाई पनि जुनसुकै विषय अध्ययन गर्न पाउने गरी ‘अफर लेटर’ पठाइदिने गरेको उनले बताए ।

‘नो अब्जेक्सन लेटर’ लिन पुगेका त्यस्ता विद्यार्थीलाई शाखाका कर्मचारीहरूले ‘नो’ भनेर फर्काइदिने गरेका छन् । विद्यार्थीलाई जसरी भए पनि विदेश जानु छ र उता गइसकेपछि अध्ययनभन्दा पनि रोजगारी उनीहरूका लागि मुख्य ध्यान हुने हुँदा ‘नो अब्जेक्सन लेटर’ लिनु परेको हो ।

कतिपय अध्ययन पूरा गरेपछि स्वदेश फर्किन चाहना राख्नेहरू पनि हुन्छन् । तर त्यस्तो शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले समकक्षता प्रदान गर्दैन भन्ने हेक्का राख्दैनन् । यसले गर्दा उनीहरूले मेहनत गरेर आर्जन गरेको प्रमाणपत्रले मान्यता प्राप्त गर्न नसकी खालि खोस्टोका रूपमा मात्र रहने आजको गोरखापत्र दैनिकमा खबर छ ।