समाचार

नेपालको स्याटलाइट इमेज नापी विभागले लिन थालेपछि…

By खबरहब

August 26, 2019

काठमाडौँ- नापी विभागले विकास निर्माणका आयोजना निर्माण गर्नुपूर्व अति आवश्यक पर्ने स्याटलाइट इमेज लिन थालेको छ ।

नापीले समग्र नेपालको स्याटलाइट इमेज लिन थालेको हो । विकासनिर्माण र पूर्वाधार विकासका लागि अद्यावधिक स्याटलाइट इमेज आवश्यक पर्छ । चीन सरकारको सहयोगमा यस्तो इमेज लिने व्यवस्था मिलाइएको हो ।

गत वर्षदेखि चीन सरकारको सहयोगमा इमेज उपलब्ध गराउन थालिएको हो । चीनले पाँच वर्षसम्म निःशुल्क रूपमा यस्तो इमेज उपलब्ध गराउने भएको छ ।

गत वर्ष नेपाल सरकार र चीन सरकारबीच निःशुल्क रूपमा इमेज उपलब्ध गराउने सम्झौता भएको थियो । नेपाललाई आवश्यक पर्ने इमेज सम्बन्धित निकायहरूले आफैँ किन्ने गरेका थिए । विभिन्न विकास निर्माणका काममा आवश्यकताअनुसार विश्वका स्याटलाइट सप्लायर्सबाट यस्तो इमेज किन्ने गरिएको थियो । यस्तो इमेज निकै महँगो हुने गर्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नेपाल आफैँले स्याटलाइट प्रक्षेपण गर्ने र आफ्नै स्याटलाइटले चित्र खिच्ने सम्भावना तत्काल नभएकाले सहयोग लिनुपरेको स्पष्ट पारे ।

उनले भने,  “हामीले त्यतातिर पहल पनि गरेका छैनौँ, एकदमै महँगो हुन्छ, हामीसँग त्यो प्रविधि पनि छैन, हाम्रा प्राथमिकता अन्यत्र छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।