रोजगार

रोजगार लक्षित सरकारी कार्यक्रम– मानव बेचबिखनमा परेकाहरु नै अवसरबाट बञ्चित

By रमेश भारती

August 27, 2019

काठमाडौं– सरकारले देशभित्र नै बेरोजगारीदर अन्त्य गर्न ल्याएको रोजगारमैत्री कार्यक्रमले मानव बेचविखन परेका पीडितलाई समेट्न नसकेको पाइएको छ ।  सरकारले गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम, विगतदेखि सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, युवा परिषदको युवा रोजगार, कृषिमा युवा रोजगार र युवा स्वरोजगार कार्यक्रमले मानव बेचबिखनमा परेका पीडितलाई रोजगारीको प्रथामिकताभित्र समेट्न नसकेको आरोप राष्ट्रिय मानव अधिकार आयोगको छ ।

आयोगले बेचबिखनमा परेका युवा युवतीका बारेमा अध्ययन गरेर तयार पारेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेख भएअनुसार सरकारले सञ्चालन गर्ने रोजगारी कार्यक्रममा मानव बेचबिखनमा परेका मानिसलाई समावेश नगरेको पाइएको औंल्याएको छ ।

सरकारले गत वर्षदेखि सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले वैदेशिक रोजगारीका शिलशिलामा हिंसामा परेर फर्किएका र मानव बेचविखनमा परेका महिलालाई संम्बोधन गर्न नसकेको आयोगको प्रतिवदेनमा भनिएको छ । गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ लाख ७५ हजार युवाले रोजगारीमा पाउँदा वैदेशिक रोजगार पीडित, विदेशमा अविभावक गुमाएका, मानव बेचबिखनमा परेका पीडित र उनीहरुका परिवारलाई रोजगारीको दायराभित्र राज्यले नसकेको आयोगको प्रतिवेदनमा जनाइएको छ ।

मानव बेचबिखन हिंसामा परेका महिलाहरु रोजगारीको खोजीमा भएपनि सम्बन्धित निकायले पहिचान गरेर काम दिन नसकेको आयोगको प्रतिवदेनमा उल्लेख छ ।

सरकारले बेरोजगारदर अन्त्य गर्न ल्याएको रोजगारी लक्षित कार्यक्रमले मानव बेचबिखनमा परेका पीडित र उनीहरुका परिवारलाई वेवास्ता गरेको अध्ययन क्रममा पाइएको राष्ट्रिय मानव अधिकार आयोगकी मानव तस्कर हेर्ने अधिकृत यशोदा बन्जाडेले बताइन ।

सरकारले ल्याएको युवा लक्षित रोजगार मैत्री कार्यक्रमको प्रभाव वैदेशिक रोजगारीका क्रममा हिंसामा परेका व्यक्ति, मानव बेचविखनमा परेका पीडित महिलाहरु र उनीहरुका परिवार नसमेटिएको अधिकृत बन्जाडेले बताइन ।

‘सरकारमार्फत रोजगारी र अन्य सुविधा पाउने आशमा बसेका मानव बेचबिखन पीडित, वैदेशिक रोजगार पीडित र उनीहरुका परिवारलाई युवा लक्षित रोजगार कार्यक्रमले छुन सकेको छैन । वार्षिक ठुलो संख्यामा मानव बेचबिखन र रोजगारीका नाममा मानव तस्करीमा परी उद्धार गरिएका महिला पुरुष स्वदेशमा रोजगारी पाउन आशमा हुन्छन्,’ उनले भनिन, ‘सरकारले धेरै रोजगारमैत्री कार्यक्रम बेरोजगारीलाई लक्षित ल्याएको हुन्छ । ती कार्यक्रममा मानव बेचबिखनमा परेका पीडितलाई अवसर पाउदैन् । यसरी अवसर नपाउँदा उनीहरु समाजबाट तिरस्कार हुने डरले गाँउ–घर नै छाडने गरेका छन् ।’

मानव तस्करीको उच्च जोखिम

वार्षिक ३५ हजार नेपाली मानव बेचविखनमा पर्ने गरेका छन् । जसमा ठुलो संख्यामा नेपाली मानव बेचबिखनको जोखिममा रहेको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । पनि आयोगको प्रतिवदेनमा औल्याइएको छ । आयोगले गरेको अध्ययनअनुसार १५ लाख मानव बेचबिखनको जोखिममा छन् ।

उनीहरुलाई सरकारले रोजगार तथा सीपमुलक तालिम दिएर आत्मानिर्भर बनाउन नसक्दा मानव तस्करको फन्दामा पर्ने गरेको आयोगको प्रतिवदेनमा भनिएको छ ।

पछिल्लो मानव तस्करीको स्वरुप बदलेर नेपाली सोझा महिलालाई रोजगारीका नाममा विदेशी पुराउने गरेका आयोगको अध्ययनले जनाएको छ । सरकारले अन्य पीडितका नाममा सामाजिकरण गर्न बजेट छुटाएपनि मानव बेचबिखन परेका पीडितलाई पुनमिलन गर्न बजेट नछुटाउने गरेको छ ।

उनीहरु सीप, तालिम र रोजगारीका लागि सरकारले छुटै बजेट विनियोजना गर्नुपर्ने आवश्यकता देखिएको अधिकृत बन्जाडेले बताइन ।

घरेलु हिंसाका कारण मानव तस्करी बढ्दो

पछिल्लो समय बढ्दो महिला हिंसा र घरेलु हिंसाका कारण मानव तस्करी बढिरहेको आयोजले जनाएको छ । परिवारबाट हुने हिंसादेखि बाच्न धेरै महिला रोजगारीका लागि विदेसिने र उनीहरु बेचबिखनको सिकार बन्ने गरेका छन् । देशका १६ जिल्लामा गरिएको अध्ययनका क्रममा धेरै महिला श्रीमान वैदेशिक रोजगारीमा हुँदा हिंसामा पर्ने र उनीहरु पनि स्वतन्त्रता र काम खोज्दै विदेशकै बाटो रोज्दा बेचबिखनमा पर्ने गरेका छन् । यसरी विदेशीने धेरै महिला दलाल र तस्करले खाडीका देश, मलेसिया र युद्धग्रस्त देश तस्करी गरिरहेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय घरेलु हिंसाका कारण महिला तस्करी भइरहेको आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । वैदेशिक रोजगारीमा श्रीमान र परिवार हुदाँ घरमा भएका महिला असुरक्षित हुने गरेको स्थलगत अध्ययनका क्रम पाइएको सदस्य अन्सारीले बताइन ।

‘मानव तस्करीको मुख्य कारण वैदेशिक रोजगार र घरेलु महिला हिंसा नै हो । अशिक्षित महिला रोजगारीका प्रलोभन देखाएर विभिन्न देशमा तस्करी भइरहेको छ,’ उनले भनिन्, ‘सरकारले के कारण मानव तस्करीका घटना बढिरहेका छन् भनेर सरकारले अध्ययन गर्नुपर्ने देखिन्छ । रोजगारीका नाममा मानव बेचबिखनमा संलग्न दोषीलाई कडा कानूनी कारवाही गर्नुपर्छ । सम्बन्धित निकायले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव तस्करी र महिला बेचबिखन रोक सचेतना कार्यक्रम आवश्यक छ ।’

पछिल्लो समय विवाह, रोजगारी, व्यापारसँग खुल्ला सिमाना हुँदा खुलेआम मानव तस्करी भइरहेको छ । नेपालबाट भारत, चीन, बंगलादेश, खाडीका देश, मलेसिया, युरोप र अफ्रिका धेरै महिला मानव तस्करीमा पर्ने गरेको आयोगले जनाएको छ ।