काठमाडौं– ४० औं विश्व पर्यटन दिवसका मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न संघ–संस्थालाई सम्मान गरेको छ ।
पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन् ।
२० लाख पर्यटक भित्र्याउने योजनाका साथ राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई भव्यताका साथ देश तथा विदेशमा मनाउन सम्बद्ध सरोकारवावालालाई आग्रह गरिएको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउन पर्यटन क्षेत्रलाई एउटा महत्वपूर्ण आर्थिक क्षेत्रका रुपमा लिइन्छ ।
तीन नमूना गाउँ घोषणा
विश्व पर्यटन दिवसका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि गाउँ पर्यटन प्रवद्र्धन मञ्चले सन् २०१९/०२० को नयाँ गन्तव्य गाउँका रुपमा तीन गाउँ घोषणा गरेको छ ।
मञ्चले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ, धादिङको रुबीभ्याली गाउँपालिका–४ चालिसागाउँ र बाग्लुङको काठेखोला गाउँपालिका–४ फापरखेत गाउँलाई नमूना गन्तव्य घोषणा गरिएको मञ्चले जनाएको छ ।
‘पर्यटन र रोजगारः सबैका लागि सुरन्दर भविष्य’ भन्ने मूल नाराका साथ शुक्रबार ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।