रोचक/विचित्र संसार

चोरले पसल तोडे, पैसा छाडेर प्याज चोरे

By खबरहब

November 28, 2019

नयाँ दिल्ली– चोरी गर्ने उद्देश्यले गएका व्यक्तिको पहिलो नजर कुन चिजमा होला ? अवश्य पनि पैसा (नगद)मा ।

तर, केही चोरहरु यस्ता पनि हुन्छन्, जसले नगदलाई भन्दा बढी उपभोग्य बस्तुलाई महत्वपूर्ण मान्छन् ।

अहिले दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ ।

मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् ।

तर, भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ चोरले पसल तोडेर प्याज चोरी गरेका छन् ।

पसलमा नगद र अन्य मूल्यबान चिजहरु पनि थिए । तर, चोरले भने लसुन र प्याज मात्रै चोरे ।

घटना भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको हो । जहाँ एउटा चोरले तरकारी पसल तोडेर प्याज र लसुन चोरेर लगेका छन् ।

पसलका सञ्चालक अजय दासले सोमबार राति आफ्नो पसलबाट करिब ५० हजार रुपैयाँ बराबरको प्याज र लसुन चोरी भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका छन् ।

चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यबान सामग्री भने चोरी नगरेको दासले बताएका छन् ।

भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेका छन् ।