इनसाइट/स्पेशल

भ्रमण वर्षमा विमानस्थल र होटलमा यतीको मस्कट राखिने

By खबरहब

August 28, 2019

काठमाडौं– नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती ठूला होटल तथा विमानस्थलहरुमा राखिने भएको छ ।

नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा सबै ठूला होटल तथा विमानस्थलमा राख्न लागिएको हो ।

मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार संसारका धेरै देशले आफ्नो पहिचानको रुपमा मस्कटलाई प्रवद्र्धन गर्छन् । त्यसैअनुरुप नेपालले पनि यतीलाई प्रवद्र्धन गर्न लागेको हो ।

नेपालको हिमाली क्षेत्रमा हिममानव यती पाइने गरेको विश्वास गरिन्छ । यद्यपि, अहिलेसम्म आधा मानव र जनावरको स्वरुप भएको भनिएको यतीको वास्तविकता भने पत्ता लागेको छैन ।

हिमाल आरोहणमा गएका आरोही तथा हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले यतीको पाइला देखेको दावी गर्ने गरेका छन् । कलाकारहरुले निर्माण गरेको यतीको मूर्तीलाई होटलहरुले खरिद गरी राख्न सक्ने व्यवस्था गरिएको संयोजक वैद्यले बताए ।